समाचारबिहीबार, पौष ११, २०७०
संविधानसभा सदस्य निर्वाचन अध्यादेश सिफारिस
मन्त्रिपरिषद्को ११ पुसमा बसेको बैठकले संविधानसभा निर्वाचन दोस्रो संशोधन अध्यादेश २०७० को मस्यौदा स्वीकृत गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।
संविधानसभाको पहिलो बैठकको अध्यक्षता सबैभन्दा जेष्ठ सदस्यले गर्ने प्रचलन छ । जेष्ठ सदस्यको सपथबारे अन्तरिम संविधान मौन रहेकोले अध्यादेश सिफारिस गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
त्यसैगरी बैठकले १० जना नायब प्रहरी महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । सरुवा हुनेहरुमा राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर शाहलाई अपराध अनुसन्धान महाशाखा, विज्ञानराज शर्मालाई प्रहरी प्रधान कार्यालय र श्यामबहादुर थापालाई प्रबन्ध विभागमा सरुवा गरिएको छ ।
त्यस्तै नायब प्रहरी महानिरीक्षक नवराज सिलवाललाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, प्रकाश अर्याललाई क्षेत्रीय प्रहरी कार्यालय हेटौँडा, बमबहादुर भण्डारीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरा, जयबहादुर चन्दलाई क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा र केशरबहादुर शाहीलाई क्षेत्रीय प्रहरी कार्यालय वीरेन्द्रनगरमा सरुवा गरिएको बैठकपछि सरकाका प्रवक्ता माधवप्रसाद पौडलले जानकारी दिए ।
बैठकले नेपाली सेनाका महासेनानी दामोदर थापा, नवलशम्शेर राणा र शशिबहादुर सिंहलाई सहायक रथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै सहायकरथी हेमन्तराज कुँवर र राजेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको छ ।
बैठकले राष्ट्रिय समाचार समितिका अध्यक्ष कोमलनाथ बरालले यही पुस १ गते देखि लागू हुने गरी दिनुभएको राजीनामा स्वीकृत गरेको पौडेलले बताए ।
स्याङ्जाको चापाकोट प्रहरीचौकीमा गत कात्तिक १२ गते भएको घटनाबारे छानबिन गर्न गठित आयोगको म्याद मङ्सिर २८ गतेदेखि लागु हुने गरी १० दिन थप गरिएको छ ।
न्युजिल्यान्डमा यही पुस २९ देखि माघ २८ सम्म सञ्चालन हुने आइसिसी विश्वकपको छनोट खेलमा अतिथिका रुपमा युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले पुस २७ देखि माघ ४ गतेसम्म भाग लिने पनि सरकारले निर्णय गरेको छ ।
