थप समाचारशुक्रबार, पौष १२, २०७०
शिकार कलिला आँखा
– गोविन्द लुइँटेल
** थानकोटका चार वर्षीय सुदेन लामाले +१.५० पावरको चस्मा लगाएको ६ महीना भयो। एक कक्षामा पढ्ने सुदेन चस्मा विना अक्षर त के वरिपरिका चिजबिज समेत ठम्याउन सक्तैनन्।
** ललितपुर भोलढोकाकी सुशीला दुवाल (१३) ले पनि चार वर्ष अगाडि भर्याङबाट लडेर टाउकोमा चोट लागेपछि आँखा देख्न छाडिन्। किताब पढ्नै नसक्ने भएपछि अस्पताल पुगेकी उनको एउटा आँखामा पहिल्यै दृष्टिदोष भएको र लड्दा अर्कोमा पनि असर परेको डाक्टरले बताए। अहिले उनी –२.५० पावरको चस्मा लगाएर स्कूल गइरहेकी छन्।
** कक्षा ९ मा अध्ययनरत चाबहिलकी शिखा धमला (१४) र कक्षा पाँचमा पढ्ने उनका भाइ शेखर (११) दुवै –२.५० पावरको चस्मा लगाउँछन्। शिक्षकले ह्वाइटबोर्डमा लेखेको अक्षर नै नदेख्ने भएपछि उनीहरू अस्पताल गएका हुन्।
पाका उमेरकाले जस्तो शक्तिशाली चस्मा लगाएर हिंड्ने यस्ता बालबालिकाको संख्या बढ्दो छ। धेरै बालबालिका अस्पताल नै आइनपुगेको बताउने आँखा रोग विशेषज्ञहरू कुनै समस्या लिएर अस्पताल आएकामध्ये अधिकांश बालबालिकामा दृष्टिदोष पाइने गरेको बताउँछन्।
पछिल्लो तीन वर्षमा काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठान आएका १६ वर्ष मुनिका ३३ हजार ४५० बालबालिकामा दृष्टिदोष पाइएको डा. सृजना अधिकारीले बताइन्।
नेपाल नेत्रज्योति संघले चार वर्ष अगाडि काठमाडौं उपत्यकामा गरेको सर्वेक्षणमा सहभागीमध्ये ९३ प्रतिशत बालबालिकामा दृष्टिदोष पाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्ष अगाडि सार्वजनिक गरेको मध्यावधि मूल्याङ्कन प्रतिवेदनमा देशभरका विद्यालयका बालबालिकामध्ये ३० प्रतिशतलाई दृष्टिदोष भएको उल्लेख छ।
तीमध्ये ४ प्रतिशत बालबालिका अन्ततः दृष्टिविहीन हुने प्रतिवेदन बताउँछ। त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा आउने दैनिक सरदर २५० बिरामीमध्ये ४० प्रतिशत बालबालिकामा दृष्टिदोष पाइएको डा. सविना श्रेष्ठ बताउँछिन्।
दृष्टिदोष भएका बालबालिका आँखा सानो बनाएर बलपूर्वक हेर्ने र विस्तारै आवाजको भर पर्न थाल्छन्। ह्वाइटबोर्डमा लेखिएका अक्षरहरू गलत सार्ने, आँखा दलिरहने, टीभी नजिकबाट हेर्ने, आँसु आउने वा टाउको दुख्ने बालबालिकामा दृष्टिदोष भएको हुन्छ। शुरूमै उपचार हुँदा यस्ता बालबालिका सामान्य अवस्थामा फर्कन्छन्। ठूलो भएपछि भने चस्मा लगाएर पनि समस्या समाधान हुँदैन, जसलाई चिकित्सकहरू ‘आँखा अल्छी भइसकेको’ भन्छन्।
‘अल्छी आँखा’ क्रमिक रूपमा दृष्टिविहीन बन्दै जान्छ। स्वास्थ्य मन्त्रालयको सन् २०११ को आँकडा अनुसार नेपालमा करीब १ लाख २५ हजार बालबालिका ‘अल्छी आँखा’ बाट पीडित छन्।
विकराल समस्या
बीपी आई फाउन्डेशनका अध्यक्ष प्रा.डा. मदन उपाध्याय धेरै कम्प्युटर–टेलिभिजन हेर्ने, बढी किताब पढ्नुपर्ने र अरू धेरै मसिना कुरा गर्नुपर्ने आजकलका बच्चाहरूमा दृष्टिदोषको समस्या विकराल बनेको बताउँछन्। उनका अनुसार, धेरै गाह्रो भएपछि मात्र अस्पताल सम्झ्ने चलनले यो समस्यालाई झ्नै चर्काएको छ।
यो समस्या कति चर्किएको छ भन्ने कुरा तिलगंगाकी डा. अधिकारीको भनाइबाट पनि थाहा हुन्छ। “मैले सन् २००३ मा एमडी गर्दा नेपालमा ८ प्रतिशत बालबालिकामा दृष्टिदोष थियो, अहिले यो संख्या ३० प्रतिशत पुगिसकेको छ।”
नेपालमा नियमित स्वास्थ्य परीक्षण गर्ने वा समस्या नआउँदै अस्पताल जाने चलन छँदै छैन भन्दा हुन्छ। यो प्रवृत्तिले दृष्टिदोष भएका बालबालिकाको संख्या उल्लेख्य रूपमा बढाइरहेको सहजै अनुमान गर्न सकिन्छ।
निजी विद्यालयमा पढ्ने सम्पन्न परिवारका छात्रछात्राहरूमा समेत बाक्लै दृष्टिदोष देखिन थालेको छ। डा. अधिकारी स्वयंले छोरा र छोरीमा दृष्टिदोष भएको कुरा धेरै पछाडि मात्र थाहा पाइन् ।
“मैले त ढिलो गरी चाल पाएँ भने गाउँघरका लाखौं बावुआमाको अवस्था कस्तो होला!” उनी भन्छिन्, “सामान्यतः ६ वर्षभित्रै बालबच्चाको आँखा जाँच गरेको खण्डमा ८० प्रतिशतसम्म दृष्टिदोष न्यूनीकरण गर्न सकिन्छ।”
नेपाल नेत्रज्योति संघले चार वर्ष अगाडि काठमाडौंका निजी विद्यालयका २४ हजार ६७ बालबालिकामा गरेको अध्ययनले तीमध्ये ५० प्रतिशतलाई आँखा जाँच गर्नुपर्छ भन्ने ज्ञान नभएको देखाएको थियो।
यस्तै अवस्थालाई ध्यानमा राखेर हुन सक्छ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस वर्षको विश्व दृष्टि दिवस (२४ असोज) का लागि ‘बालबालिकालाई विद्यालय भर्ना गर्नु अगाडि नै आँखा जाँच गर्नुपर्छ’ भन्ने नारा अगाडि सारेको थियो। नेत्रज्योति संघ, तिलगंगा आँखा अस्पताल लगायतका निकायहरूले यो नाराको आधारमा प्रचार–प्रसार अगाडि बढाएका छन्।
चेतना जगाउने प्रचार–प्रसार अभियानको क्रममा बीपी आई, तिलगंगा, नेत्र ज्योति संघ, शिक्षा विभाग, बीपी आई फाउन्डेशन लगायतको सहकार्यमा यो आर्थिक वर्षमा देशभरका एक हजार ५२ प्रशिक्षक र शिक्षकलाई तालीम दिन लागेको फाउन्डेशनका अध्यक्ष प्रा.डा. उपाध्यायले बताए।
यसैगरी, विद्यालयहरूले पनि ब्लाकबोर्डमा लेखिएको नदेखेर अरूको कापी सार्ने र अगाडि बस्न खोज्ने छात्रछात्राका अभिभावकलाई बोलाएर आँखा जाँच गराउन अनुरोध गर्न थालेको ललितपुर भोलढोकास्थित शुभकामना सेकेन्डरी स्कूलकी प्रिन्सिपल प्रभा बज्राचार्यले बताइन्।
दृष्टि गुमाउने उत्तिकै
नेपालमा दैनिक १२५ जना दृष्टिविहीन हुने गरेका र तीमध्ये ७ बालबालिका हुने स्वास्थ्य मन्त्रालयको सन् २०११ को अध्ययनले देखाएको छ। त्यही साल बीपी आई फाउन्डेशनले देशभरका ६८ वटा एकीकृत विद्यालयमा गरेको सर्वेक्षणमा ८६ प्रतिशत बालबालिकामा जलविन्दु, मोतियाविन्दु र दृष्टिविहीनताको अरू वंशाणुगत कारणहरू भेटेको थियो।
तिलगंगा आँखा प्रतिष्ठानले दुई वर्षअघि सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा १० वर्ष मुनिका १० हजार बालबालिकामा गरेको अध्ययनले एक हजार जनामा ६३ जना दृष्टिविहीनताको नजिक पुगेको पाएको थियो। यीमध्ये १५ प्रतिशतले मात्र उपचार पाएको हुनसक्ने आँखाका डाक्टरहरू बताउँछन्।
आँखा जाँच गर्न त्यति महँगो पर्दैन। चस्मामा रु.२ हजारसम्म खर्चिनुपर्छ। र पनि, धेरै नेपाली उपचारबाट वञ्चित छन्। नेपालमा आँखाका विश्ोषज्ञ डाक्टर पनि जम्मा १४७ जना छन्। उनीहरूको भागमा १ लाख ९३ हजार ९ बिरामी पर्ने गरेका छन्। त्यसमाथि नेपालका सबै आँखा डाक्टर शहरकेन्द्रित छन्।
________________________________________
‘आफैंलाई दुःख लाग्छ’
डा. सृजना अधिकारी
थप पढ्न अमेरिका गएपछि मात्र बालबालिकामा ‘भिजन क्लिनिङ’ महत्वपूर्ण रहेछ भन्ने थाहा भयो। फर्केर आएपछि आफ्नै चारवर्षे छोराको दृष्टि जाँच गर्दा उसले दृष्टि मापन गर्ने चार्ट पढ्नै सकेन। घरमा त्यस्तो कुनै लक्षण देखिएको थिएन, तर उसको आँखा ‘अल्छी’ भइसकेको रहेछ। उसले +६ पावरको चस्मा लगाएको ६ वर्ष भयो। साढे दुई वर्षको उमेरमा भिजन टेस्ट गर्दा समस्या देखिएको छोरीले पनि –२.५० पावरको चस्मा लगाइरहनुपर्छ। छोराछोरी दुवै दृष्टिदोषबाट पीडित हुँदा दुःख लागिरहन्छ।
बच्चाहरू लिएर पार्टी र अरू जमघटहरूमा जाँदा मान्छेहरू ‘ओहो, यति सानोलाई पनि चस्मा लगाइदिएको!’ भन्छन्। अस्पतालमा चेकजाँच पछि बच्चाले चस्मा लगाउनुपर्ने भयो भन्दा कतिपय अभिभावक रुनुहुन्छ। शुरूमै चेकजाँच गरेर चस्मा लगाउँदा समस्या हुँदैन भनेर सम्झाउन मुश्किल पर्छ।
दृष्टिदोष भएका बालबालिकालाई चस्मा लगाइरहने झन्झटबाट मुक्त गर्ने लेजर सर्जरी प्रविधि पनि आएको छ, तर यो महँगो छ। दुवै आँखाको लेजर सर्जरी गर्दा करीब रु.५० हजार खर्च हुन्छ।


