समाचारशुक्रबार, पौष १२, २०७०
आफ्नै कमजोरीले पनि चुनावमा हार भोः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक र बाह्य दुवै कारणले संविधानसभामा हार भएको स्वीकारेका छन् । एमाओवादी केन्द्रीय कार्यालय र पूर्व पोलिटब्यूरो सदस्यको १२ पुसमा बसेको बैठकमा बोल्दै उनले जनताको एजेण्डा आफूसँग भए पनि आन्तरिकसँगै अरु कारणले पनि निर्वाचनमा हारेको बताए ।
बैठकमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले भने पार्टीलाई अब पूर्णरुपमा जनतामा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले विगतमा भएको कमजोरी स्वीकारेर सांगठानिक संरचना तयार पार्नुपर्ने धारणा राखे ।
सभासद्को टुंगो केन्द्रीय समितिबाट
संविधानसभामा जाने एमाओवादीका समानुपातिकतर्फका सभासदको छनौट केन्द्रीय समितिले गर्ने भएको छ । एमाओवादीको केन्द्रीय कार्यालय र पूर्व पोलिटब्यूरो सदस्य बैठकले सभासद छनौट गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको हो।
एमाओवादीले जनयुद्धमा योगदान गरेका, घाइते तथा अपाङ्ग योद्वा, शहीद परिवार, पार्टीको एजेन्डालाई प्रष्टसँग राख्नसक्ने र राजनीतिक रुपमा परिपक्व भएकालाई सभासद् चयन गर्ने जनाएको छ । प्रवक्ता अग्नि सापकोटाले सभासद छनौट गर्ने कार्यविधि टुङ्गो लागेको र सोही कार्यविधिको आधारमा केन्द्रीय समितिको बैठकले सभासदको टुंगो लगाउने जानकारी दिए ।
उनका अनुसार हरेक जिल्लामा एक जना सभासद् पर्ने गरी सबै वर्ग, क्षेत्र, अल्पसङ्ख्यक जात, जाति, महिला, आदिवासी लगायतलाई समेट्ने गरी सभासद् छनोट गरिनेछ । त्यसकै लागि एमाओवादीले १४ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको सापकोटाले जानकारी दिए ।
