थप समाचारशनिबार, पौष १३, २०७०
अरविन्द केजरीवाल दिल्लीको सातौं मुख्यमन्त्री
भारतको राजधानी दिल्लीको ऐतिहासिक रामलीला मैदानमा दिल्लीको नयाँ मुख्यमंत्रीका रुपमा अरविन्द केजरीवालले १३ पुसमा शपथ ग्रहण गरेका छन् ।
भारतीय राजश्व विभागका अधिकारीको जागिर छोडेर सामाजिक कार्यकर्ता बनेका अरविन्द केजरीवाल दिल्लीका सातौं मुख्यमंत्री बनेका छन् ।
शपथग्रहणका लागि केजरीवाल पार्टी कार्यालयबाट मेट्रो ट्रेन चढेर रामलीला मैदान पुगेका थिए ।
केजरीवाललाई उपराज्यपाल नजीब जंगले दिल्लीको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गराए । सँगै विधायकहरु मनीष सिसोदिया, सोमनाथ भारती, सत्येंद्र जैन, कुमारी राखी बिरला, गिरीश सोनी र सौरभ भारद्वाजले पनि राज्यका मन्त्रीको शपथ ग्रहण गरे ।
शपथग्रहणपछि केजरीवालले सामाजिक अभियन्ता अन्ना हज़ारेसँगै आफूले दुईवर्ष अघिदेखि शुरु गरेको आन्दोलनको स्मरण गर्दै भने, “मैले अन्ना हजारेजीलाई राजनीतिमा सहभागी नभई यो फोहर सफा गर्न सकिंदैन भनेको थिएँ ।”
भ्रष्टाचारविरुद्धको आन्दोलनबाट नेताका रुपमा उदाएका केजरीवालको आम आदमी पार्टीले कांग्रेसको समर्थनमा दिल्लीमा सरकार गठन गर्नेछ ।
दिल्ली विधानसभामा २८ सिट जितेको आम आदमी पार्टीले कांग्रेसको बाहिरी समर्थनबाट अल्पमतको सरकार बनाउनेछ ।
३२ सिट जितेर ठूलो दल भएको भाजपाले आफूसँग बहुमत नभएको भन्दै सरकार बनाउन अस्वीकार गरेपछि आम आदमी पार्टीले कांग्रेसको समर्थनमा सरकार बनाएको हो ।
निर्वाचनभन्दा अघि केजरीवाले राजनीतिमा भिआइपी संस्कृतिको अन्त्य गर्ने वाचा गरे अनुसार शपथग्रहण समारोहमा पनि सार्वजनिक यातायातबाटै रामलिला मैदान पुगेका थिए ।
उनले आफ्ना लागि व्यक्तिगत सुरक्षा र भिआइपीले चढ्ने रातो बत्तिसहितको गाडी नचाहिने बताइसकेका छन् । दिल्ली प्रहरीलाई पत्र लेखेरै उनले आफ्नो सुरक्षाको लागि प्रहरीको आवश्यकता नभएको बताएका छन् । यसअघि केजरीवाल दिल्लीको रेल्वे स्टेशनको प्लेटफर्म र पार्टी कार्यालयको भूइँमा कार्यकर्ताहरुसँगै सुतिरहेका भेटिन्थे ।
को हुन केजरीवाल
४५ वर्षीय अरविन्द केजरीवाल भारतमा भ्रष्टाचार विरोधी ‘जनलोकपाल विधेयक’ को माग गर्दै अन्ना हजारेसँग आन्दोलनमा आएपछि बढी चर्चामा आएका हुन् । भारतमा सूचनाको हक सम्बन्धी कानून (right to information) बनाउनमा उनले गरेको आन्दोलन प्रमुख उपलब्धि मानिन्छ ।
आइआइटी खडगपुरबाट मेकानिकल इञ्जिनियरिंगमा स्नातक केजरीवालले कुशल नेतृत्वका लागि रमन म्यागसेसे पुरस्कार पनि प्राप्त गरेका छन् । हरियाणामा जन्मेका उनी भारतीय राजस्व सेवाको जागिर छोडेर सामाजिक आन्दोलनमा उत्रिएका हुन् ।
दिल्लीमा बिजुली र पानीको महशुल बढाइएपछि त्यसकाविरुद्ध केजरीवालले अनसन गरेका थिए । त्यसैगरी सामाजिक अभियन्ता अन्ना हजारेसँगै जनलोकपाल बिल विधेयक पास गराउन पनि उनले आन्दोलन गरेका थिए ।
अरविन्द केजरीवालले देशको राजनीति सुधार्न आफै राजनीतिमा होमिनुपर्छ भन्दै एक वर्षअघि ‘आम आदमी पार्टी (आप) गठन गरे ।
२ अक्टोबर २०१२ मा राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका केजरीवालले सामाजिक आन्दोलन जस्तै राजनीतिमा पनि सफलता पाउने लक्षण देखिएको छ ।
