समाचारआइतबार, पौष १४, २०७०
आगालागीमा दुई छोरासहित आमाको मृत्यु
झापा सतासीधाम गाविसस्थित एक घरमा १३ पुसा राति आगलागी हुँदा ३२ वर्षीया मोनिका भट्टराई र उनका दुई छोराहरु १३ वर्षीया निकेश र ७ वर्षीया निशानको जलेर मृत्यु भएको छ । मोनिकाका श्रीमान तोम भट्टराई रोजगारीका क्रममा केहिबर्षदेखि बेलायतमा छन् भने मोनिका र दुई छोरासमेत तीन सातापछि बेलायत जाने तयारीमा थिए ।
राति ९ बजेतिर परिवारका तीनैजना सुतिरहेको अवस्थामा घरमा आगो लागेको थियो । छिमेकी घरमा समेत मानिस नभएका कारण चिसो रातमा आगोले घरको अधिकांशभाग जलिसकेपछि मात्रै गाँउमा खबर फैलिएको थियो ।
घरमा बालिएको वत्तिबाट आगलागी भएको हुनसक्ने बताइएको छ । उद्दारको लागि राति १० बजेतिर दमकबाट गएको दमकल दोस्रोपटक पानी भर्न कनकाई नदीमा जाँदा बाटोमै फसेपछि आगो निभाउन झन ढिलो भएको थियो ।
झापाको सुरुंगास्थित होस्टलमा बसेर पढिरहेका निकेश गएको शनिबार मात्रै घर आएका थिए ।
प्रहरीले तिनैवटा शब पोष्टमर्टमका लागि झापा सदरमुकाम चन्द्रगढी पुुर्याएको छ ।
मोनिका तिन बर्षदेखि मोरङ दर्बेसास्थित घरबाट झापा सतासीधाममा भिनाजु गणेश बजगाँईको घर पुरै भाडामा लिइ छोराहरु पढाँउदै बसेकी थिइन ।
गोपाल गडतौला, झापा

