समाचारआइतबार, पौष १४, २०७०
पदका लागि एमालेमा गएको होइनः भुवन केसी
नेकपा एमालेको समानुपातिकतर्फका सभासदहरुको सूचीमा भुवन केसीको नाम नपरेपछि उनले पार्टी छोड्ने भन्ने खबर केही सञ्चारमाध्यमहरुमा आएको थियो । तर, त्यसविपरित केसीले आफू पदको लागि नभई सिद्धान्त र विचारबाट प्रभावित भएर नेकपा एमालेमा आबद्ध भएको बताएका छन् ।
१४ मंसीरमा रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कारमा उनले भने, “कारणबस सभासद हुन नसके पनि पार्टीप्रति प्रतिबद्ध रही एमालेमै पूर्ण निष्ठाका साथ लागिरहने छु ।” यद्यपी केसीले सभासद बनेको भए संविधानसभामा जस्तोसुकै भूमिका निर्वाह गर्न सक्ने बताए । उनले अगाडि भने, “मसँग संविधानसभा र सरकारमा भूमिका निर्वाह गर्ने क्षमता छ तर, म पदको लागि राजनीतिमा आएको होईन ।
पार्टीले संविधानसभा बाहिर कुनै राजनीतिक नियूक्ती दिए त्यो नस्विकार्ने बताएका केसीले कलाकारलाई सम्मान गर्न सके पार्टीकै प्रतिष्ठा उँचो हुने बताएका थिए ।
उनले आफूले प्रचार गरेका सबै एमालेका नेताहरुले चुनाव जितेकोमा गर्व गर्दै आफ्नो नाम सभासदमा नपरेकोमा चलचित्र क्षेत्र निरास बनेको दाबी पनि गरे । उनले चलचित्र क्षेत्रलाई धैर्यधारण गर्न आग्रह समेत गरेका छन् ।
नायक केसी पहिले प्रत्यक्षतर्फ सिफरिसमा पनि अन्तिम समयमा उनको नाम हटाइएको थियो भने पछि समानुपातिकको बन्द सूचिमा उनको नाम सिफारिस गरिए पनि सभासदको अन्तिम नामावलीमा भने उनको नाम परेन ।
