समाचारशुक्रबार, साउन १२, २०६९
शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणाको माग
शीतल निवासमा ११ साउनमा पुगेका अभिभावकहरुले राष्ट्रपति डा. रामवरण यादवसमक्ष शैक्षिक क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गर्ने भनेर राजनीतिक दलहरुले प्रतिवद्धता जनाएपनि त्यसलाई व्यवहारमा नउतारेको बरु बालवालीका सवार बसमै आगजनी गर्ने सम्मको कृत्य गर्न थालेको गुनासो गरेका थिए।
अभिभावकहरुले राष्ट्रपतिलाई शैक्षिक क्षेत्रलाई शान्तिक्षेत्र घोषण गरी त्यसलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्ने वातावरणकालागी पहल गरिदिन अनुरोध गरेका थिए । अभिभावकहरुसँगको भेटमा राष्ट्रपति डा. यादवले यस विषयमा आफूले सरकारलाई जानकारी गराउने बताउनु भएको, भेटमा सहभागी ललितपुरस्थित रातो बंगला स्कुलका अभिभावक हरि सिलवालले बताए ।
नेकपा-माओवादीसम्बद्ध विद्यार्थी संघटन अनेरास्ववियू क्रान्तिकारीले अंग्रेजी नाम राखेको, महंगो शुल्क लिएको जस्ता नाममा १ साउन २०६९ का दिनदेखी विभिन्न स्कुल तथा कलेजमा आक्रमण तथा तोडफोड गर्ने, विद्यालयका बस जलाउने लगायतका घट्ना घटाउँदै आएको छ । १ साउनमा रातो बंगला स्कुलको बसमा आगजनी तथा एभरेष्ट फ्लोरिडा, वेष्टर्न स्टेट कलेजमा आक्रमण गरेका क्रान्तिकारीका विद्यार्थीहरुले ८ साउनमा विद्यार्थी सवार रहेकै अवस्थामा धरानस्थित दिल्ली पब्लिक स्कुलको बसलाई बीच जंगलमा रोकेर आगजनी गरेका थिए ।
