समाचारमंगलबार, पौष १६, २०७०
जुम्ला, बाजुरा र मुगुमा हिमपात
जुम्लामा १५ पुस दिउँसोसम्म हिमपात हुने कुनै लक्षण देखा नपरे पनि १६ पुस बिहान ६ बजेदेखि एक्कासि हिमपात भएपछि सर्वसाधारण चकित परेका छन् । हिमपातका कारण बिहानको तापक्रम माइनस ८ डिग्री सेन्टिेग्रेडमा झरेको हावापानी फिल्ड कार्यालयले जानकारी दिएको छ ।
हिमपातले कामकाज तथा हिँडडुल गर्न अप्ठ्यारो परेपनि किसानलाई भने ठूलो फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । जुम्लामा अहिले पौने १ फिट जति हिमपात भएको छ भने हिउँ पर्ने क्रम जारी छ । हिमपात बेसीभन्दा लेकमा बढी भएको छ ।
दार्चुलामा भारी हिमपात
दार्चुला– दार्चुलामा पनि १५ पुस राति वर्षासँगै भारी हिमपात भएको छ । हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ । उत्तरी दार्चुलाका एक दर्जन गाविसमा हिमपातभएको छ । घुसा, खण्डेश्वरी, राप्ला, एरकोट, व्यास, सुन्सेरा, सिप्टी, खार सदरमुकाम खलङ्गा र तीन कोष क्षेत्रलगायतका स्थानमा भारी हिमपात भएको हो ।
कात्तिक महिनाको अन्तिम सातामा उत्तरी दार्चुलाको उच्च लेकाली बस्तीमा हिमपात भएको थियो । यो पटक भारी हिमपात हुने स्थानीयवासीको भनाइ छ ।
मुगुमा हिमपात
मुगुमा पनि १५ पुस मध्यरात देखि हिमपात भएको छ । जिल्ला सदरमुकाम गमगढी, रारा, सोबा, ताल्चा, माग्री, डोल्फ, लगायत स्थानमा भारी हिमपात भएको छ । हिमपातले सर्बसाधारणको जनजीवन कष्टकर भएको छ ।
मंसीर पहिलो साता मुगुको लेकमा हिमपात भएको थियो ।
हिमपातका कारण मुगुको एक मात्र हवाई सेवा ताल्चा बिमानस्थल प्रभावित भएको छ भने गमगढी नाग्मा सडक पनि अबरुद्ध भएको छ ।
हिमपातले अधिकाश ब्यापारीको समान बीचमै रोकिएको छ ।
रासस

