थप समाचारमंगलबार, पौष १६, २०७०
आठ वर्षदेखि घाटको बास
गोपाल गडतौला, झापा
लाशलाई जलाउन सोलामा चढाउँदा खोलिएका कपडा ओढ्ने–ओछ्याउने गर्छन्। बगरमा बस्छन्। लाश पोल्न सघाइदिंदा पाइने अन्न पकाउन लाश पोलेर उब्रिएका दाउराले काम चलाइरहेका छन्। तिहुन तरकारीका लागि पनि त्यही सहयोगको भरथेग छ। “आठ वर्ष भयो” भात पकाउने जोहो गर्दै गरेकी श्रीमती धनमाया (३४) तिर फर्किंदै वीरबहादुर तामाङले भने, “हामी जोइपोइ अब सधैं यहीं बस्छौं।” घाटको बासको अर्को सजिलो छ उनीहरूलाई– चिन्नुजान्नु परेन मलामीसँगै मिसिएर मलामी खाजाले पनि कत्ति छाक टर्ने गर्छ।
४० वर्षे वीरबहादुर वर्षौअघि धरानमा गाडी चलाउँथे। दिनहुँ रक्सी पिउने आदत पुरानै हो, जुन आज पनि छुटेको छैन। पुस्तौनी घर धनकुटा भीरगाउँमा उनकी जेठी श्रीमती र छोराछोरी छन्। आठ वर्षअघि धनमायालाई दोस्रो श्रीमतीको रूपमा भित्र्याएपछि उनी मध्य झापाको कन्काई बगरमा आइपुगे। रिक्साचालक रक्स्याहा लोग्नेले पिटेको वेला वीरबहादुरले फकाएर ल्याएकी धनमाया पनि उनीसँग घाटैमा बस्न राजी भइन्। बगरमा बिताएको शुरू रातपछि उनीहरू त्यहींका रैथाने बने।
परदेशबाट बाकसमा ल्याइएका नेपालीहरूको लाशको दहनपछि खाली हुने बाकस भत्काएर त्यसैको फल्याक हाली सुत्ने लो बेड बनाएका छन्। लाशका लुगाफाटो उनीहरू लगाउँछन्। लाशसँगै कतिपयले फ्याँक्ने भाडाबर्तन उनीहरूका पकाइखाने मालमत्ता भएका छन्। कन्काईको खुला बगर भएकोले उनीहरूको मात्र होइन वरिपरिका धेरै घरलाई अझै चर्पीको खाँचो महसूस छैन।
झण्डाहरू स्याहार्छन्
बगरमा करीब ८ फुटको वर्गाकार छाप्रो समेत लाशसँगै घाटमा ल्याई फ्याँकिने वस्तुबाटै ठडिएको हो। लाश बाँधेर ल्याइने घारो ठड्याएर डोरीले बाँधी कात्रो र कपडाले बेरिएको छ। पार्टी कार्यकर्ताहरू बित्दा घाटमा अन्तिम श्रद्धाञ्जली दिंदा ओढाइएका झण्डा मलामी हिंडेपछि स्याहारिदिने काम पनि तामाङ दम्पतीकै भएको छ।
कतैबाट एकोहोरो शंख बज्छ कि भनेर कान थाप्दै दिन शुरू हुन्छ उनीहरूको। “लाश पोल्न सघाउँछु र दयाले दिएको हात थापेर खान्छु”, उनीहरूले एकै स्वरमा भने, “यो जुनी अब यहीं घाटमै यसैगरी बित्ला!”

