समाचारशुक्रबार, साउन १२, २०६९
पूर्वराजालाई नागार्जुनबाट लखेट्ने बेला आएको एमाले वरिष्ठ नेताको धारणा
प्रेस चौतारी नेपाल पर्साले १२ साउनमा वीरगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पछिल्लो समयमा ज्ञानेन्द्र शाह आवश्यकता भन्दा बढी सक्रिय भएको भन्दै नागार्जुनमा पनि बस्न दिन नहुने धारणा राखेका हुन् ।
नेता नेपालले एमाओवादी अहिले पनि उग्रवामपन्थी सोचबाट मुक्त हुन नसकेको र सत्ताकब्जाको मानसिकताबाट हिंडिरहेको आरोप लगाए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबाट आर्शिवाद पाएकाले प्रधानमन्त्री बाबुराम भट्टराईको सरकार ढाल्न आन्दोलन नै आवश्यक भएको उल्लेख गरे । आन्दोलनको तयारीका लागि आफ्नो पार्टीको अञ्चलस्तरीय भेला सम्पन्न गर्दै जिल्लास्तरीय कार्यकर्ता भेलाको तयारी गरिरहेको उनले जानकारी दिए । उनले एमाओवादीले एकलौटी निर्णय गरिरहेकाले ७ मंसिरको निर्वाचन कुनै हालतमा सफल नहुने ठोकुवा गरे ।
अर्को प्रसंगमा नेता नेपालले एमालेले संघीयतासम्बन्धी खाका ल्याउन विलम्ब गरेको भए पनि संस्थागत रुपमा संघीयताको पक्षधर भएको बताए ।
प्रेस चौतारी पर्सा अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा एमाले पोलिट्ब्यूरो सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सदस्य महमुद आलम, वैकल्पिक केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायतको सहभागिता थियो ।
यसैबीच पर्साको उदयपुर घुर्मी गाविसमा नवनिर्मित दलित सामुदायिक भवनको वरिष्ठ नेता नेपालले उद्घाटन गरे । सो भवन जिल्ला विकास समिति पर्साको सहयोगमा रु. १ लाख ९० हजारमा निर्माण भएको हो ।
अलि असगर, वीरगन्ज
