समाचारबुधबार, पौष १७, २०७०
वीरगञ्जमा एमाओवादी कार्यकर्ताबीच झडप
अध्यक्ष पुष्पकमल दाहालले मापदण्ड विरपीत समानुपातिकतर्फका सभासदहरुको सिफारिस गरेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले गरेको पत्रकार सम्मेलनमा दाहाल पक्षीय कार्यकर्ताहरुले आक्रमण गरी सम्मेलन विथोलेका छन् ।
एमाओवादीका जिल्ला समिति सदस्य योगेन्द्र साहको नेतृत्वमा जिल्ला कमिटी र राज्य कमिटीका सदस्यहरुले १७ पुसमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहाल पक्षीय अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुजित गिरीको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।
सम्मेलनमा निर्वाचन आयोगले दिएको तीन दिनको म्यादभित्र सूची सच्याउने काम नभए केन्द्रीय कार्यालय घेराउ र सामूहिक राजिनामाजस्ता कार्याक्रम तय गरेर पार्टीभित्र संघर्ष गर्ने असन्तुष्टहरुले घोषणा गरे लगतै आक्रमण भएको थियो।
करिब १५ मिनेटसम्म कुर्सी र हेलमेटले हानाहान भएको थियो। पत्रकार सम्मेलन आयोजना गर्नेहरुलाई गिरी नेतृत्वको समुहले कुट्दै लखेटेको थियो ।
कुर्सी हानाहानपछि आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । घटनामा केहीलाई चोटपटक लागेको छ । गिरीले सो पत्रकार सम्मेलनमा हस्तक्षेप गरेपछि उनलाई रोक्न खोज्दा पर्सा जिल्ला कमिटी सदस्य अनिल कुमार गुप्ता पनि घाइते भएका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
