समाचारबुधबार, पौष १७, २०७०
अन्सारीको निधन, गोली हान्ने दुई भारतीय पक्राउ
-श्याम गुप्ता, बारा
१७ पुस दिउँसो साढे १२ बजे भारतीय अपराधीद्वारा गोली हानिएका बारा भवानीपुर जितपुर- ३ का आफताव अन्सारीको वीरगञ्जस्थत नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । अन्सारीको टाउको पछाडि गोली लागेको थियो ।
१७ पुस दिउँसो घर अगाडि बसिरहेका अन्सारीमाथि मोटर साइकलमा आएका दुई जना भारतीयले गोली हानेका थिए ।
गोली हान्ने दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये एकजना भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय विपिन यादव र अर्का डोनपुरका ३६ वर्षीय रवि पाण्डे रहेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा उनीहरुमध्ये एकजनालाई प्रहरीले छातापिपरा नजिकै पक्राउ गरेको हो भने मोटर साइकल छाडेर उखुबारीमा लुकेका अर्कालाई घेरा हाली पक्राउ गरेको हो । भारतीय बि.आर.०६.सि.३५१७ नं.को कालो रंङ्गको पल्सर मोटरसाइकलमा आएका दुइ जनामध्ये पहेंलो रंगको ज्याकेट लगाएका युवाले अन्सारीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीहरुसँगबाट हतियार र गोलीसमेत बरामद भएको छ।
आलम बाराको रामपुरटोकनीस्थित मुक्ति आयलमा काम गर्ने र ट्रक ब्यवसायी समेत भएको आफन्तजनले बताएका छन् ।
घटनास्थल नजिकै रहेको प्रहरी कार्यालयका प्रहरीले आक्रमणकारीलाई पछ्याउने क्रममा उनीहरुले प्रहार गरेको गोली लागेर सइ मातृका ठाकुर र जवान शेख सफजान घाइते भएका छन् । ठाकुरको पेट र देब्रे हातमा गोली लागेको छ भने सफजानको तिघ्रामा गोली लागेको छ । दुवै प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।


