थप समाचारबिहीबार, पौष १८, २०७०
‘इन्फोसिस’ छोडेर ‘आप’मा
आफ्नो २२ वर्ष लामो करियर र प्रमुख कार्यकारी हुने सम्भावना छोडेर ‘इन्फोसिस’का वरिष्ठ बोर्ड सदस्य भि बालाकृष्णन ‘आप’मा संलग्न भएका छन् । उनले १० रुपैयाँ दिएर साधारण सदस्यता लिएको भारतीय अखबार ‘टाइम्स अफ इण्डिया’ ले जनाएको छ ।
बालाकृष्णनले केजरीवालले शुरु गरेको ‘क्रान्ति’मा आफू सहभागी हुन चाहेको उल्लेख गरेका छन् ।
केही दिनअघि भारतका भूतपूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीका नाति आदर्श शास्त्रीले पनि अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘एप्पल’ को जागिर छोडेर ‘आप’को सदस्यता लिएका थिए ।
सामाजिक कार्यकर्ता अन्ना हजारेले नेतृत्व गरेको संगठन ‘इण्डिया अगेन्स्ट करप्सन’को आन्दोलनबाट उदाएका पूर्व राजश्व अधिकारी एवम् मेकानिकल इञ्जिनियर अरविन्द केजरीवालले ‘लोकपाल विधेयक’ का लागि दबाब दिन असाधारण तरिकाले जनतालाई आन्दोलित बनाएका थिए । त्यसको एक वर्षपछि केजरीवालले गठन गरेको ‘आप’ ले पहिलो पटक नै दिल्ली विधानसभा निर्वाचनबाट सफलता हासिल गर्दै सरकार गठन गर्न सफल भएको छ ।
विश्वासको मत
१८ पुसमा भारतको राजधानी दिल्ली विधानसभामा ‘आप’ ले विश्वासको मत लिंदै छ ।
कांग्रेसले निशर्त समर्थन गर्ने दोहोर्याएपछि आपले विश्वासको मत हासिल गर्ने निश्चित जस्तै छ ।
कांग्रेसका प्रदेश अध्यक्ष अरविन्दर सिंह लवलीले भनेका छन्, “केजरीवाललाई हामी भाग्न दिने छैनौं, उनले सरकारमा रहेर जनतासँग गरेका वाचा पूरा गर्नुपर्छ ।”
त्यसैगरी जनतादल युनाइटेडका एकमात्र विधायक शोएब इकबालले पनि ‘आप’ लाई समर्थन दिने घोषणा गरिसकेका छन् ।
महत्वपूर्ण निर्णय
केजरीवालले दिल्लीको मुख्यमन्त्री भएको केही दिनमै धेरै महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले दिल्लीबासीलाई दैनिक ७०० लिटर पानी निशुल्क दिने र ४०० युनिट सम्म प्रयोग गर्नेहरुलाई विजुलीको मूल्य आधामात्रै लाग्ने घोषणा गरेका छन् ।
नयाँ वर्षको पहिलो दिन नै दिल्ली सरकारले तीनवटा विद्युत वितरण कम्पनीहरुको अडिट गराउने आदेश समेत दिएको छ । पछिल्लो सरकारले विद्युत वितरण कम्पनीहरुको अडिट गराउन सकेको थिएन । वितरण कम्पनीहरुले विद्युतमा अत्यधिक नाफा लिएर ग्राहकलाई महंगो दरमा विजुली बेचेको आरोप लाग्दै आएको छ ।
दिल्लीमा विद्युत मूल्य कटौति हुने भएपछि हरियाणा सरकारले पनि विद्युतको मुल्य घटाएको छ । त्यस्तै महाराष्ट्रमा कांग्रेस सांसद सञ्जय निरुपमले पनि विद्युतको मूल्य घटाउन माग गरेका छन् ।


