समाचारबिहीबार, पौष १८, २०७०
किन भयो अन्सारीको हत्या
जिल्ला प्रहरी कार्यालय बारामा १८ पुस दिउँसो पत्रकार सम्मेलन गरेर प्रहरीले भारतीय रुपैंया लेनदेनका कारण अन्सारीको हत्या भएको दावी गरेको छ । बाराका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले पक्राउ परेकाको बयानका आधारमा पैसाको कारोबार नै अन्सारी हत्याको मुख्य कारण भएको बताए ।
प्रहरी हिरासतमा रहेका दुई भारतीय नागरिकले मृतक अन्सारी नक्कली नोटको कारोबारमा संलग्न रहेको र भारतको लखनउका कारोबारीलाई भुक्तानी दिनुपर्ने रकम भुक्तान नगरेकाले बदला लिन हत्या गरिएको बताएको खनालले जानकारी दिए ।
१७ पुस दिउँसो साढे १२ बजे भारतीय अपराधीद्वारा गोली हानिएका व्यवसायी आफताव अन्सारीको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । अन्सारीको टाउको पछाडि गोली लागेको थियो ।
१७ पुस दिउँसो घर अगाडि बसिरहेका अन्सारीमाथि मोटर साइकलमा आएका दुई जना भारतीयले गोली हानेका थिए । गोली प्रहार गर्ने भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय विपिन यादव र अर्का डोनपुरका ३६ वर्षीय रवि पाण्डेलाई १७ पुसमै प्रहरीले पक्राउ गरेको थियो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले मृतकको परिवारलाई क्षतिपूर्तिवापत १० लाख रुपैया उपलब्ध गराउन सरकारलाई सिफारिश गर्ने भएको छ । जीतपुरका स्थानीयबासिन्दाले १८ पुसमा चक्काजाम गरेपछि कार्यालयले क्षर्तिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिश गर्ने बताएको हो ।
यस्तै, कार्यालयले हत्यारालाई पक्राउ गर्ने प्रहरीद्धय असई मातृका ठाकुरलाई सईमा र प्रहरी जवान शेष शमसादलाई हवलदारमा बढुवा गर्ने जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
