समाचारशुक्रबार, पौष १९, २०७०
राष्ट्रपतिले नेताहरुसँग भेट तिव्र पारे
अन्तराष्ट्रिय र लोकतान्त्रिक प्रचलन अनुसार राष्ट्रप्रमुखले नै संविधानसभाको पहिलो बैठक बोलाउनु पर्ने भन्दै राष्ट्रपति रामवरण यादवले दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।
अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने भन्ने उल्लेख भएकाले सो अनुसार मन्त्रिपरिषद अध्यक्षले नै बैठक बोलाउने सरकारको भनाई छ । पहिलो संविधानसभाको निर्वाचन परिणाम आउँदा राजतन्त्र निलम्बन भइसकेको, राष्ट्रपतिको चयन नभएको अवस्थामा राष्ट्रप्रमुखको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीले संविधानसभाको पहिलो बैठक बोलाउने व्यवस्था गरिएको थियोे ।
तर, लोकतान्त्रिक मान्यता अनुसार राष्ट्रप्रमुखले नै संविधानसभाको बैठक बोलाउने र अहिले राष्ट्रपति राष्ट्रप्रमुख हुने भएकोले उनले नै संविधानसभाको बैठक बोलाउनुपर्ने शीतलनिवासको अडान छ ।
यसैबीच राष्ट्रपति यादवले संविधानसभा बैठक बोलाउने अधिकार आफ्नो भएको भन्दै प्राविधिक विषयलाई लिएर विवाद नगर्न मन्त्रिपरिषद अध्यक्ष तथा प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।
उनले १८ पुसमा शीतल निवासमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापालाई बोलाई यस्तो आग्रह गरेका थिए ।
त्यस्तै १९ पुस बिहान राष्ट्रपतिले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् भने आजै मधेशी दलका नेतालाई भेट्ने कार्यक्रम रहेको शीतल निवास स्रोतले जनाएको छ।
निर्वाचन आयोगले दोस्रो संविधानसभा निर्वाचनको अन्तिम परिणाम शुक्रबार राष्ट्रप्रमुख यादवलाई बुझाएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बोलाउने प्रावधान छ।
लोकतान्त्रिक चलन र अन्तरिम संविधानमा भएको ब्यवस्था नमिलेपछि संविधानसभाको प्रथम बैठक कस्ले बोलाउने भन्नेमा अन्यौल बढेको छ ।
यसैबीच संविधानसभाको पहिलो बैठक अन्तर्राष्ट्रिय प्रचलनअनुसार राष्ट्रपतिले नै बोलाउनु पर्ने भन्दै डेमोक्र्याटिक लयर्स एसोसिएसनले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ।
कांग्रेस सभापति सुशील कोइरालाबाहेक अन्य नेताहरुले भने संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा सार्वजनिकरुपमा बोलेका छैनन्।
