समाचारशनिबार, पौष २०, २०७०
एमाओवादीमा नेतृत्व परिवर्तन गर्नुपर्छः पौडेल
एमाओवादीको नीति र नेतृत्व दुवै असफल भएको भन्दै एमाओवादीका नेता देवेन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले २० पुसमा आयोजना गरेको साक्षात्कारमा पौडेलले संविधानसभा निर्वाचन परिणामले नेतृत्वलाई असफल देखाएकोले अब पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रुपमै प्रवेश गरेको बताए ।
उनले भने, “आगामी केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको मुद्दामा बहस हुन्छ । अब नयाँ पुस्ता नेतृत्वको लागि तयार हुनु पर्छ । पुरानो नेतृत्व लामो समय सम्म बसिरहने प्रथाले नयाँको प्रतिभा र क्षमता अघि बढ्न सक्दैन ।”
उनले महाधिवेशनमै पनि यसबारेमा आवाज उठेको भन्दै अहिले त्यसको औचित्य पुष्टि भएको दाबी गरे ।
समानुपातिक तर्फबाट सभासद चयन प्रक्रियामा संस्थागत निर्णय नमिलेको भन्दै पौडेलले त्यसैकारणले पार्टी भने फुट्न नफुट्ने बताए ।
उनले भने, “पार्टी फुट्ने र फुटाउने अधिकार कसैलाई छैन, यूवा पुस्तालाई नेतृत्व दिएर छाड्नु पर्छ ।”
संविधानसभाको बैठक ढिला नगरी तत्काल बोलाउनु पर्ने जिकिर गर्दै उनले ठूलो दलको रुपमा नेपाली कांग्रेसले जिम्मेवार भएर एक वर्षभित्र संविधान जारी गर्ने गरी अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।
नेपाली काग्रेसका नेता मिनेन्द्र रिजालले समानुपातिक निर्वाचन प्रणालीको विषयमा प्रश्न उठेकोले आगामी संविधानबाट समानुपातिक प्रणालीलाई हटाउनु पर्ने धारणा राखे ।
रिजालले भने, “निर्वाचनलाई समावेशी बनाउनु पर्छ तर, समानुपातिक निर्वाचन प्रणालीमा प्रश्न उठेकोले यसलाई अघि बढाउन सकिदैन ।”
संविधानसभा पटक पटक नहुने भएकोले प्रधानमन्त्रीले बैठक आह्वान गर्ने ब्यवस्था अन्तरिम संविधानमा भए पनि अहिले मुलुकमा राष्ट्रपतिरहेको र बाहिर पनि राष्ट्रप्रमुखले बैठक आह्वान गर्ने प्रचलन रहेकोले संविधान संसोधन गरेर भए पनि राष्ट्रपतिबाट बैठक आह्वान गरिनुपर्ने जिकिर गर्दै रिजालले त्यसो नगरे कसैको पनि हित नहुने चेतावनी दिए । उनले भने, “यस्तो विषयमा सार्वजनिक विवाद गर्नु हुँदैन ।”
नेकपा एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापाले समानुपाति निर्वाचन प्रणाली असफल भइसकेको भन्दै आगामी निर्वाचनमा यसलाई हटाउनु पर्ने बताए ।
उनले भने, “पार्टीभित्रको आन्तरिक लोकतन्त्र ठिक नभएको र मुल्याङकनको आधार नभएको मुलुकमा बन्दसूचि प्रणाली उपयूक्त हुँदैन ।”
