समाचारमंगलबार, पौष २३, २०७०
‘षड्यन्त्रको सिद्धान्त’ आविष्कार नगरः भट्टराई
एमाओवादी नेता भट्टराईले २३ पुसमा प्रेस वक्तव्य निकालेर आफूले उठाएको मुद्दालाई विषयान्तर गरिएको बताएका छन् । पार्टी नेतृत्वप्रति लक्षित गर्दै उनले मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएकाले त्यस्तो सैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक वक्तव्यमा उनले लेखेका छन्, “कुनै पनि वैचारिक, राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको सिद्धान्त’ (conspiracy theory) आविष्कार गरेर मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएकाले त्यस्तो असैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न सम्वन्धित सवैलाई आग्रह गर्दछु।”
उनले आफ्नो राजनीतिक बहसलाई अघि बढाएर लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्न संचारमाध्यमसँग आग्रह गरेका छन् ।
कसैसँग पद मागेको छैन
भट्टराईले आफूले कसैसँग कुनै पनि पद नमागेको जिकिर गरेका छन् । उनले लेखेका छन्, “जुनसुकै श्रोतबाट प्रवाहित भएको भए पनि मैले कसैसंग कुनै पद मागेको भन्ने कुरा सरासर गलत, भ्रामक र वदनियतपूर्ण छ र म त्यसलाई पूर्ण रुपले खारेज गर्दछु ।”
भट्टराईले २३ पुस बिहान सार्वजनिक गरेको प्रेस वक्तव्यः
प्रेस वक्तव्य
केही समय यता पार्टी र राज्यको समग्र लोकतान्त्रीकरण वारे भैरहेको सार्वजनिक वैचारिक–राजनीतिक वहसका सन्दर्भमा केही संचार माध्यमहरुमा मैले कुनै पद हासिल गर्न मात्र यसो गरेको भन्ने आसयका समाचार र टिप्पणीहरु आएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम, जुनसुकै श्रोतबाट प्रवाहित भएको भए पनि मैले कसैसंग कुनै पद मागेको भन्ने कुरा सरासर गलत, भ्रामक र वदनियतपूर्ण छ र म त्यसलाई पूर्ण रुपले खारेज गर्दछु ।
दोश्रो कुरा, अहिलेको वहस र छलफलको मुख्य मुद्दा लोकतान्त्रिक मूल्य–मान्यता, विधि, प्रणाली र प्रक्रिया स्थापित गर्ने र लागू गर्ने हो, किन्तु कुनै व्यक्ति विशेष वा पदको भागवण्डा किमार्थ होइन । यस सन्दर्भमा मैले लामो समयदेखि नयां ढंगको पार्टी निर्माण र लोकतन्त्रको नयां मोडेलको विकास वारे निरन्तर रुपमा पार्टी भित्र र सार्वजनिक रुपमा उठाउ“दै आएका कुरा पुनः एक पटक सवैलाई स्मरण गराउन चाहन्छु ।
तेश्रो कुरा, कुनै पनि वैचारिक, राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको सिद्धान्त’ (conspiracy theory) आविष्कार गरेर मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएकाले त्यस्तो असैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न सम्वन्धित सवैलाई आग्रह गर्दछु र स्वस्थ राजनैतिक वहसलाई अघि वढाएर नया“ ढंगको लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्ने कार्यमा योगदान गर्न संचारजगत समेतलाई हार्दिक अनुरोध गर्दछु ।
………………………….
२०७०–९–२३ (बाबुराम भट्टराई)
एकीकृत नेकपा (माओवादी)
