समाचारमंगलबार, पौष २३, २०७०
प्रहरीकै संलग्नतामा लागूऔषध कारोबार
चितवनका विभिन्न ठाउँबाट पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लागूऔषध कारोबारमा संलग्न आठ जनालाई प्रहरीले २३ पुसमा सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा एक जना प्रहरी पनि छन् । ईटरुवा प्रहरी चौकी धनुषामा कार्यरत प्रहरी जवान दिवाकर राईलाई प्रहरी पक्राउ गरेको हो । कारोबारमा संलग्न रहेको पाइएपछि उनलाई भरतपुरको क्याम्पाचौरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । भरतपुर–१० घर भएका उनी बिदा लिएर घर आएका बेला कारोबारमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
उनीसँगै विभिन्न ठाउँबाट तनहूँका आशिष कायस्थ, भरतपुरका विनोद गुरुङ, जेनेर चौधरी, चितवन जगतपुरका सन्दिप गुरुङ, मेघौलीका विजय महतो, भरतपुर–११ क मैच्याङ लामा र अमरदीप आलेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
उनीहरुको साथबाट ठूलो मात्रामा एपुल डाईजोपाम, ब्रुफिन, फेनारगन लगायतको अवैध लागूऔषध प्रहरीले बरामद गरेको छ । चितवन प्रहरीले असोजदेखि तीन महीनाको अवधिमा लागूऔषध कारोबारमा संलग्न २२ जनालाई पक्राउ गरिसकेको छ ।
सविता श्रेष्ठ, चितवन ।

