समाचारमंगलबार, पौष २३, २०७०
दाहालको राजिनामा माग
मिथिला ब्यूरो सदस्यहरुले २३ पुसमा जनकपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष दाहालको राजिनामा माग गरेका हुन् । संविधानसभा चुनावमा पार्टीको हारको जिम्मेवारी लिँदै दाहालले अध्यक्षबाट राजिनामा दिनुपर्ने उनीहरुको तर्क छ ।
संस्थापन पक्षबाट असन्तुष्ट नेता तथा कार्यकर्ताले हारको नैतिक जिम्मेवारी दाहालले नै लिनुपर्ने जिकिर गरे । एमाओवादी केन्द्रीय सदस्य असर्फी भिन्वार यादवले सम्मेलनमा बोल्दै मधेश ब्यूरो इन्चार्जबाट रामचन्द्र झा, मिथिला राज्य समिति इन्चार्जबाट विश्वनाथ साह र जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले पनि राजिनामा दिनुपर्ने बताए ।
उनीहरुले ६५ सदस्यीय मिथिला ब्यूरोमध्ये ४० जना आफूहरुसँग रहेको पनि दाबी गरे । अधिकांश मिथिला ब्यूरो ईन्चार्जका सदस्य सहभागि पत्रकार सम्मेलनमा एमाओवादीले कात्तिक तेस्रो साता निलम्बन गरेका केन्द्रीय सदस्य एवम् मिथिला ब्यूरो सेक्रेटरी जोगकुमार यादवको पनि उपस्थिति थियो ।
ईश्वरचन्द्र झा, जनकपुर
