थप समाचारबुधबार, पौष २४, २०७०
माटोले पुरिएर अर्घाखाँची र दाङमा २ को मृत्यु
अर्घाखाँचीको ठूलापोखरीमा घर लिप्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । ठूलापोखरी–१ भिरपानीकी ४० वर्षिया बाटुली बिकको माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको हो ।
उनलाई २३ पुस साँझ भिरपानीमै माटो खन्ने क्रममा ढिस्कोले पुरेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
__________________________________________________________________
सिमेन्ट उद्योगमा पनि माटोले पुरिएर दाङमा पनि एकको मृत्यु
दाङको दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगमा २३ पुसमा एक मजदुरको पनि माटोले पुरिएर मृत्यु भएको छ । विजौरी–१ दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगमा कार्यरत भारतको बनारस घर भएका २५ वर्षीय रमेश पालको माटोले पुरिएर मृत्यु भएको हो ।
उद्योगको मेशिनबाट माटो निकाल्ने क्रममा पालको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते अवस्थामा उद्वार गरिएका उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
देविका घर्ती मगर, दाङ
