समाचारबिहीबार, पौष २५, २०७०
निश्चित अवधिमा नेतृत्व फेरौं: भट्टराई
एमाओवादी नेता भट्टराईले निश्चित अवधिमा पार्टी नेतृत्व परिवर्तन भइरहे मात्र लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरण हुनेमा जोड दिएका हुन् । २५ पुसमा कान्तिपुर दैनिकमा लेख लेख्दै उनले विभिन्न तहको नेतृत्व प्रणाली माथिबाट नभएर तलबाट निर्वाचनका आधारमा निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् ।
पार्टी नेतृत्वप्रति लक्षित गर्दै उनले पार्टीभित्र भिन्न मतको सम्मान गर्नुपर्ने पनि बताएका छन् । व्यक्ति–प्रधान नभएर सामूहिक नेतृत्व प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले लेखेका छन्, “लोकतन्त्रको संस्थागत विकास र लोकतान्त्रीकरणका लागि हामीले सबभन्दा पहिले पार्टीहरुको आन्तरिक लोकतान्त्रीकरणमा विशेष जोड दिनैपर्छ । त्यसका लागि पार्टीहरुको वैचारिक–राजनीतिक धरातल बलियो बनाउने, नीति निर्माण र निर्णय प्रक्रियामा आम कार्यकर्ताहरुको सक्रिय सहभागिता सुनिश्चित गर्ने, विभिन्न तहको नेतृत्व प्रणाली माथिबाट मनोनयन होइन, तलबाट निर्वाचनका आधारमा निर्माण गर्ने, व्यक्ति–प्रधान होइन सामूहिक नेतृत्व प्रणाली विकास गर्ने र निश्चित अवधिमा नेतृत्व परिवर्तन गरिरहने, पार्टीभित्र आलोचनात्मक चेतको प्रबर्द्धन गर्ने र भिन्न मतको सम्मान गर्ने आदि गर्नुपर्छ ।”
उनले पार्टी नेतृत्वमा एउटै व्यक्ति लामो समयसम्म हावी रहे पार्टीको चरित्र नै अलोकतान्त्रिक दिशामा बदल्ने खतरा रहने उल्लेख गरेका छन् । पार्टी नेतृत्वले आलोचना नसहँदा त्यो बादशाहको नयाँ लुगा बन्ने स्थिति रहने खतरा रहने उनको भनाइ छ ।
उनले लेखेका छन्, “नेतृत्वको आलोचना नसहने प्रवृत्तिले नेतृत्वलाई कार्यकर्ता र जनताबाट कटाएर ‘बादशाहको नयाँ लुगा’को हास्यास्पद स्थितिमा पुर्याइदिन्छ भने कार्यकर्ताहरुमा दास मनोवृत्ति र दब्बुपन विकास भएर सिर्जनशील क्षमतामा पूरै ह्रास आउँछ ।”
उनले भ्रष्टाचारमा लिप्त पार्टीले देशको अग्रगामी नेतृत्व गर्न नसक्ने पनि बताएका छन् । उनले पार्टीहरुको आर्थिक व्यवस्थापन र गतिविधि पारदर्शी तथा भ्रष्टाचारमुक्त बनाउने संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
