थप समाचारबिहीबार, पौष २५, २०७०
कृषि सामग्री संस्थान राजविराजमा अख्तियारको छानबिन
विराटनगरस्थित कृषि सामग्री संस्थानको गोदामबाट ढुवानीका क्रममा बाटैबाट रासायनिक मल चोरी भएको विषयमा अख्तियारले छानबिन शुरु गरेको हो । सत्र लाख रुपैंया मूल्य बराबरको रासायनिक मलको चोरी भएको घटनाको छानबिन र कारबाही प्रक्रिया अघि बढाएको अख्तियारका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रवक्ता चन्द्र फुयाँलले जानकारी दिए ।
कृषि सामग्री संस्थानबाट सप्तरीको राजविराजस्थित सो संस्थानको जिल्ला कार्यालय गोदाममा ढुवानी गर्ने क्रममा एक ट्रकबाट २५ मेट्रिक टन डिएपी मल गायब भएको थियो । रासायनिक मल ढुवानीको जिम्मेवारी लिएको निहारिका ढुवानी सेवाको ना ३ ख ८२०० नम्बरको ट्रकबाट उक्त मल रहस्यमय ढङ्गबाट चोरी भएको र त्यसको उजुरी अख्तियारमा परेपछि कारबाही अगाडि बढाइएको फुयाँलले बताए ।
अख्तियारले ट्रक चालक हलुमान माझी तथा कृषि सामग्री संस्थान राजविराजका कर्मचारीसँग सोधपुछ गरिरहेको जनाएको छ । एक महीना अघि भएको घटनाको कृषि सामग्री संस्थान केन्द्रीय कार्यालयले पनि छानबिन गरिरहेको छ ।
रासस
