थप समाचारशनिबार, पौष २७, २०७०
यूडब्ल्यूसीको छात्रवृत्ति खुल्ला
विभिन्न देशका विद्यार्थीलाई एकै ठाउँमा राखेर आपसी सद्भाव, विविधताको सम्मानसँगै विश्व शान्तिमा योगदान दिन सक्ने बनाउन सञ्चालित युनाइटेड वर्ल्ड कलेज (यूडब्ल्यूसी) ले १० कक्षा पास नेपाली विद्यार्थीका लागि समेत छात्रवृत्तिको आवेदन खुल्ला गरेको छ।
सन् १९६२ देखि सञ्चालित यूडब्ल्यूसीका स्कूलहरू अफ्रिका, एशिया, यूरोप, उत्तरी अमेरिका र दक्षिणी अमेरिकी देशका १४ स्थानमा सञ्चालित छन्। सन् १९८२ देखि नेपालीहरूको सहभागिता शुरू भए पनि धेरैलाई अझै यूडब्ल्यूसी छात्रवृत्तिबारे थाहा छैन। यूडब्ल्यूसी नेपालका दिनेश भट्टराईका अनुसार शुरूमा विगतमा वर्षेनि दुई जना नेपालीले यूडब्ल्यूसीमा पढ्न पाउने गरेकोमा अहिले यो संख्या ५ देखि ६ सम्म हुने गरेको छ।
विश्वका करीब १४० देशका विद्यार्थी अध्ययनरत यूडब्ल्यूसीमा इन्टरनेशनल ब्याकलरिएट पढ्न पाइन्छ। दुईवर्षे यो कोर्ष १२ कक्षा सरहको अन्तर्राष्ट्रिय मान्यताप्राप्त उपाधि हो। यूडब्ल्यूसीमा पढ्न प्रथम श्रेणीमा १० कक्षा उत्तीर्ण गरेका १६ देखि १८ वर्षसम्मका विद्यार्थीहरूले आवेदन दिन पाउँछन्।
बेलायती राजनीतिज्ञ तथा प्रशासक लर्ड माउण्ट बेटनको परिकल्पनामा यूडब्ल्यूसी शुरू गरिएको थियो। दोस्रो विश्वयुद्धपछिका किशोरकिशोरीलाई आपसी सद्भाव विकास गर्दै योग्य नागरिक बनाउन प्रयोगात्मक र व्यावहारिक ज्ञान दिने उद्देश्यले शुरू गरिएको यूडब्ल्यूसीले उत्कृष्ट शिक्षा दिने गरेको यूडब्ल्यूसी इटलीमा आइबी सकेर अमेरिका र अस्ट्रेलियाको विश्वविद्यालयमा अध्ययन गरेका दोर्जे गुरुङ बताउँछन्।
“यूडब्ल्यूसी ग्य्राजुएटले विश्वका कुनै पनि विश्वविद्यालयमा प्रवेश पाउने क्षमता राख्छन्”, गुरुङ भन्छन्, “यूडब्ल्यूसीका विद्यार्थीलाई थप अध्ययनका लागि छनोट गर्न विश्वका उत्कृष्ट कलेजका प्रतिनिधि विद्यालयमै आउँछन्।” गुरुङ अहिले नेपालका सरकारी विद्यालयको पढाइ सुधार्ने प्रयासमा छन्।
यूडब्ल्यूसी कलेजका लागि नेपालबाट आवेदन दिने यस पटकको अन्तिम म्याद २० जनवरी २०१४ सम्म छ। आवेदनमा विद्यालयको सिफारिश पनि अनिवार्य हुन्छ। प्राप्त आवेदनहरूको छनोट यूडब्ल्यूसी कमिटी नेपालले गर्छ।
थप जानकारी www.uwcnepal.org.np/index.php?action=home
साप्ताहिक खबरपत्रिका हिमालबाट
