थप समाचारसोमबार, पौष २९, २०७०
पर्वत र बाँकेमा दुर्घटना, तीनको मृत्यु
दक्षिण पर्वतको हुवास गाविसमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । २८ पुस राती भएको दुर्घटनामा १४ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर छ ।
मलामी बोकेर त्रिवेणीदेखि हुवासको बसेलडाँडामा जाँदै गरेको ग १ च ७६०२ नम्बरको जिप हुवास गाविसकै वडा नं. ७ स्थित दारसिङडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा परी हुवास–५ का ६५ वर्षीय होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षीय लोकप्रसाद न्यौपानेको मृत्यु भएको छ ।
न्यौपानेको घटनास्थलमा र तिवारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुवास–५ का ५५ वर्षीय डण्डपाणि बस्याल, सोही स्थानका २४ वर्षीय घनश्याम बस्याल, हुवास–६ का ४५ वर्षीय नुमाखर बस्याल र हुवास–५ का २८ वर्षीय नन्दलाल बस्यालको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेहरुको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको छ । कच्ची सडकमा अत्यधिक लोडका कारण उकालोमा ब्रेक फेल भएपछि ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चालक भने फरार छन् ।
यसैबीच, पूर्व—पश्चिम राजमार्गअन्तर्गत कोहलपुरमा २८ पुसमा दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बा ९ च २६६५ नम्बरको कारले ठक्कर दिँदा बाँके जिल्ला रझेना—८ निवासी ६५ वर्षीय वासुदेव लम्सालको मृत्यु भएको हो ।
काठमाडौँ बस्दै आएका लम्साल रझेना गाविसका पूर्वगाविस अध्यक्षसमेत हुन् । प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।
