समाचारसोमबार, पौष २९, २०७०
हिउँमा कठ्यांग्रिएर दुईको मृत्यु
संखुवासभाको हटिया र किमाथांका गाविसको बिचमा पर्ने छेसुम्बा डाँडामा हिउँले पुरिएर २८ पुसमा दुई जनाएको मृत्यु भएको हो । मृत्यु हुनेमा २० वर्षीय दलबहादुर राई र २४ वर्षीय धनबहादुर राई छन् ।
किमाथांका नाकामा चिराइतो पुर्याएर फर्कने क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमनाथ अधिकारीले जानकारी दिए । १३ जनाको समूहमा नाकामा गएका उनीहरुमध्ये ११ जना भने भागेर बच्न सफल भएका छन् । उनीहरु फर्कने क्रममा भारी हिमपात भएको थियो ।
मानवबस्ती पातलो भएको र हिउँले कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको ठेगाना भने अझै खुलेको छैन ।
संखुवासभाका विभिन्न स्थानमा साता दिनदेखि लगातार हिमपात भइरहेको छ । संखुवासभामा २ हजार ५०० मिटरसम्मको उचाईमा हिमपात भइरहेको हो ।
छेटु शेर्पा, संखुवासभा
