थप समाचारसोमबार, पौष २९, २०७०
सृजनाकली आमा बनी (भीडीओसहित)
शब्द/तस्वीरः बिक्रम राई
भिडीओ हेर्न यहाँ क्लिक गर्नोस्
सपना भिलेज लजका मालिक धु्रव गिरीजीले २१ पुसको एकाबिहानै फोन गरेर सृजनाकली आमा बन्न लागेको खबर सुनाएपछि हतार–हतार सौराहा पुगें । नभन्दै म लजको हात्तीसार पुग्दा ३८ वर्षकी सृजनाकली बेथाले छटपटाइरहेकी थिई ।
अलिअघि सौराहामा भेटिएका माहुते राजेन्द्र चौधरीले सामान्यतः हात्ती बेलुका बियाउने बताएका थिए, तर यहाँ बिहान यस्तो भइरहेको थियो ।
सृजनाकलीको वरिपरि जुटिरहेका गिरीजी र माउतेहरूको हारमा उभिएर म हात्तीबारे अगाडि नसुनेका अनेक कुरा सुनिरहेको थिएँ ।
सौराहामा सरकारी र निजी क्षेत्रका धेरै हात्ती रहेछन् । तर, सृजनाकली बच्चा पाउने दोस्रो निजी हात्ती रहिछे ।
हात्ती त्यो पनि गर्भवती हात्ती पाल्न धेरै गाह्रो हुनेरहेछ । रात–दिन आराममा राख्नुपर्ने गर्भिणी हात्तीलाई खाना नै महीनामा रु.६० हजारको चाहिने रहेछ । छावा जन्मिएपछि पनि माउ तीन वर्ष आरामै बस्दिरहिछे । अर्थात्, हात्ती मालिकले आम्दानी विनाको धेरै खर्च गर्नुपर्दो रहेछ । त्यही कारण ढोईहरूलाई हत्तपत्त आमा बन्न नदिइँदो रहेछ ।
यस्ता कुरा सुन्दासुन्दै दिन गएर रातको १२ बज्यो, छावाको सुरसारै थिएन । माउतेहरूले ‘समय भएपछि बोलाउँछौं, अहिले सुत्नुस्’ भनेपछि म कोठातिर लागें ।
भोलिपल्ट दिउँसो साढे दुई बजे सृजनाकलीले छावा जन्माउँदा म त्यहाँ पुगिसकेको थिएँ । दुई दिनदेखिको तनाव सकिएर सबै उत्सवको मूडमा देखिए । विदेशीहरू पनि ‘बेबी एलिफ्यान्ट’ भन्दै त्यहाँ भुम्मिएका थिए ।
२२ महीनामा जन्मेको सुन्दर–स्वस्थ ३० पुसमा छावा ९ दिनको भएपछि न्वारान गरेर नाम राखिने छ ।








