समाचारसोमबार, पौष २९, २०७०
राष्ट्रपतिलाई हटाउन परेको रिटमाथि सुनुवाई भएन
राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई तेस्रोपटक सरेको हो । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको पेशी फेरि २ माघका लागि तोकिएको छ ।
सर्वोच्चले यसअघि २६ पुस, २८ पुस र २९ पुस गरी तीनपटक रिटको पेशी तोकेको थियो । २९ पुसमा पनि समय अभावका कारण सुनुवाई हुन नसकेको अधिवक्ता अर्यालले बताए ।
राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त घोषित गर्न वा राजिनामा गर्न लगाउन माग गर्दै अधिवक्ता अर्यालले २५ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई हटाएर नयाँ निर्वाचन हुनुपर्ने माग पनि गरिएको छ ।
दुई वर्षका लागि निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको म्याद संविधानसभाको म्याद थपिएसँगै थपिएको र अब नयाँ जनादेश अनुसार हुनुपर्ने रिटमा जिकिर गरिएको छ ।
