समाचारमंगलबार, पौष ३०, २०७०
बस चलाउँदै लुटेराले यात्रु लुटे
काठमाडौंबाट सिन्धुलीका लागि छुटेको ना ४ ख १५०१ नम्बरको बसलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहका साथमा रहेको नगद, गहना, मोबाइललगायतका सामान गरी करिव ५ लाख मूल्य बराबरको धनमाल लुटेका छन् ।
कटुवा पेस्तोल र खुकुरी सहितका ९ जना लुटेराहरुले बसका चालकलाई नियन्त्रणमा लिएर आफैंले गाडी चलाउँदै लुटपाट गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिएका छन् । उनीहरुले २० किलोमिटर जंगल क्षेत्रमा आफैंले गाडी चलाएर लुटपाट गरेका हुन् ।
लुटेराहरुले चालकलाई नियन्त्रणमा लिएपछि एकजनाले बस चलाएका थिए अन्य ८ जनाले हतियार देखाउँदै यात्रुहरुका सामान लुटेका थिए ।
उनीहरुले एक लाख रुपैयाँभन्दा धेरै नगद, करिव ६ तोला सुनका गहना र मोवाइललगायतका सरसामान लुटेका छन् ।
काठमाडौंको कलंकीबाट यात्रु बनेर चढेका ४ जना र हेटौंडाबाट चढेका ५ जना गरी ९ जना लुटेराले बिहान ४ बजे बस सर्लाहीको फुलजोर जंगलमा प्रवेश गर्नासाथ लुटपाट शुरु गरेको यात्रुहरुले बताएका छन् ।
गुडिरहेको बस भित्र हतियार देखाएर महोत्तरी खयरमारा घर भएका बसचालक कृष्णकुमार श्रेष्ठलाई कुटपिट गर्दै नियन्त्रणमा लिएपछि लुटेरा मध्येको एक जनाले बस चलाएको र बाँकी ८ जनाले लुटपाट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका बस चालकको बर्दिवासमा उपचार भैरहेको छ ।
लुटपाटपछि महोत्तरीको बर्दिबास नजिक बिश्वकर्मा चोकमा गाडी रोकेर उनीहरु जंगलतिर भागेको यात्रुले बताए ।
प्रहरीले विश्वकर्मा चोक नजिकबाट शंकाको आधारमा एक जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ ।
विश्वनाथ ठाकुर, सर्लाही
