समाचारबुधबार, माघ १, २०७०
अढाई करोडको सुन बरामद

तातोपानी नाकाबाट १ माघ बिहान आठ केजी अवैध सुन ल्याउँदै गरेका चिनियाँ नागरिक चेन रोङ जी । तस्वीर सौजन्यः सशस्त्र प्रहरी/तातोपानी
१ माघमा दुबईबाट फ्लाई एयरको एफ जे ५७३ नम्बरको उडानमार्फत काठमाडौ आएका २२ वर्षीय भारतीय नागरिक महम्मद सनुदबाट प्रहरीले ६ किलो सुन बरामद गरेको छ ।
भन्सारको जाँच समेत पार गरेर निस्किएका सनुदलाई अन्तिम चेकजाँचमा प्रहरीले सुनसहित पक्राउ गरेको हो । प्रहरीले सुराकीका आधारमा चेकजाँच गर्दा सुन बरामद गर्न सकेको दाबी गरेको छ । पक्राउ परेका सनुदले ढाडमा बाँध्ने पेटीभित्र सुन लुकाएर ल्याएको प्रहरी नायव महानिरीक्षक गोपाल भण्डारीले जानकारी दिए ।
करिब २ करोड ७३ लाख ६६ हजार रुपैया“ बजार मुल्यको सुन अवैध तरिकाले ल्याएका सनुद पहिलो पटक नेपाल आएका हुन् । उनका साथबाट प्रहरीले १५ हजार ५ सय दिराम समेत बरामद गरेको छ ।
बरामद सुन र अभियुक्तलाई भन्सारमा बुझाइने प्रहरीले जनाएको छ ।
———————————–
८ केजी सुनसहित चिनियाँ पक्राउ
सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट आठ केजी अवैध रुपमा भित्र्याउँदै गरेको आठ केजी सुन प्रहरीले बरामद गरेको छ ।
तातोपानी नाकाबाट नेपाल भित्र्याउँदै गरेको ८ केजी सुनसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । १ माघ बिहान सुनसहित ४३ वर्षीय चिनियाँ चेन रोङ जी पक्राउ परेको प्रहरी नायव उपरीक्षक अर्जुन खत्रीले हिमालखबरलाई जानकारी दिए ।
उनले हात, कम्मर, तिघ्रा र पिंडौलामा सुनको बिस्कुट टेपले बाँधेर भित्र्याइरहेका थिए । सशस्त्र प्रहरी र तातोपानी भन्सारको संयुक्त टोलीले उनको साथबाट सुन फेला पारेको हो ।
उनीमाथि थप अनुसन्धानको काम भइरहेको खत्रीले बताए ।
