समाचारबुधबार, माघ १, २०७०

प्रा केसी अनशन प्रकरण: श्वेतपत्र जारी गर्न सरकारलाई चेतावनी

हिमालखबर

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानभित्रको विद्यमान समस्याको उचित समाधानका लागि आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको अनशन टुङ्ग्याउन सरकार र सरोकारवाला सबै निकायलाई नेपाल चिकित्सक सङ्घले अनुरोध गरेको छ ।

“वरिष्ठ चिकित्सकलाई आमरण अनशन बस्ने वातावरण सिर्जना नगर्न  नेपालमा कहाँ, कति चिकित्सक, स्वास्थ्यकर्मी र मेडिकल कलेज चाहिन्छ भन्ने सम्बन्धमा सरकारले अविलम्ब श्वेतपत्र जारी गर्न माग गर्दछ,” सङ्घले १ माघमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा नेपाल चिकित्सक संघ कडाभन्दा कडा कदम चाल्न बाध्य हुनेछ र, त्यसबाट उत्पन्न हुने परिस्थितिको पूर्ण जिम्मेवार नेपाल सरकार हुनुपर्ने छ ।”

————————————————————————————————————————–

प्रा. डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

हिमालखबर

बुधबार , १ माघ २०७० ३:१६ पम

त्रिवि शिक्षण अस्पतालमा पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्नेसहितका सात सुत्रीय माग राखी आमरण अनशनमा बसेका हाडजोर्नी विभाग प्रमुख प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप बन्दको माग राख्दै अनशनमा बसेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । “उहाँको रगतमा अक्सिजनको मात्रा कम, मुटुको धड्कन बढ्दो र पिसाब कम हुने (एसिटोल) अवस्था देखिएको छ,” केसी बचाऊ अभियानका डा. राजेन्द्र वाग्लेले जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा. शशी शर्मालाई नियुक्ति गरेपछि समग्र स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका माग गर्दै केसीले २७ पुसदेखि अनशन थालेका हुन् । यसअघि पनि डिन नियुक्तिलगायतका विवादमा उनी दुईपटक अनशन बसिसकेका छन् ।

केसीको अनशनप्रति समर्थन जनाउँदै त्यहाँ कार्यरत चिकित्सक, प्राविधिक, कर्मचारी, परिचारिकाले आकस्मिक र अन्तरङ्ग सेवाबाहेक अन्य सेवाहरु ठप्प पारेका छन् ।

केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपनि अक्सिजन र सलाइनबाट मात्र उपचार भइरहेको उपचारमा संलग्न अर्का चिकित्सक प्रा.डा. महेशराज सिग्देलले जानकारी दिए ।

यसैबीच, केसीको अनशन लिएर त्रिविका उच्च पदाधिकारीको बैठक बसिरहेको छ । साँझसम्ममा समस्याको समाधान आउने बताइएको छ ।

“हामीले त्रिविका सबै पदाधिकारीलाई समस्या समाधान गर्न आग्रह गरिसकेका छौँ,” शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>