समाचारबुधबार, माघ १, २०७०
यात्रु बनेर बस लुट्ने पाँच पक्राउ
काठमाडौंबाट सिन्धुलीका लागि छुटेको बसलाई ३० पुसमा सर्लाही र महोत्तरीको सीमास्थित जंगलमा नियन्त्रणमा लिई लुट्ने लुटेरा समूहका ५ जनालाई ईलाका प्रहरी कार्यालय बर्दिबास र ढल्केबरको टोलीले पक्राउ गरेको छ ।
अञ्चल प्रहरी कार्यालय जनकपुरले १ माघमा पत्रकार सम्मेलन गरी नियन्त्रणमा लिएका पाँचजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहा बडहरामाल–६ का २२ वर्षीय समीर लामा, नुवाकोट खानीगाउँ–३ का २३ वर्षीय अमर तामाङ, सिन्धुली भिमानका २९ वर्षीय शम्भु कार्की, नुवाकोट गणेशस्थान–४ का २८ वर्षीय राजकुमार अधिकारी र धादिङ खाल्टे–९ का राजकुमार गुरुङ रहेका छन् ।
पाँचै जनाले ना ४ ख १५०१ नम्बरको बसमा काठमाडौंमा सवार भई सर्लाहीमा गाडीलाई नियन्त्रणमा लिएका थिए ।
महोत्तरीको माईस्थान पुग्दा गाडी जंगलमा रोकेर उनीहरुले यात्रुहरुबाट ५ तोला सुन, १ लाख ५९ हजार नगद तथा २० थान मोबाईल र २ थान एलईडी टीभी लुटेको प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछानेले जनाएका छन् ।
प्रहरीले पक्राउ परेकाबाट १६ थान मोबाईल, नगद ७ हजार र खुकुरी ३ थान बरामद गरेको छ ।
गिरोहमा सक्रिय अन्य ४ जना फरार रहेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक लामिछानेले अभियुक्तहरु बस लुटपाटका अन्य घटनामा संलग्न रहेको नदेखिएपनि अनुसन्धान जारी रहेको जनाएका छन् ।
इश्वरचन्द्र झा, जनकपुर
बस चलाउँदै लुटेराले यात्रु लुटे
