समाचारबिहीबार, माघ २, २०७०
प्राध्यापक केसीको समर्थनमा धरानमा आन्दोलन
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले ‘डा केसी बचाउ ऐक्यवद्धता समूह’ गठन गरी माघ २ गते देखि रिले अनसन शुरु गरेका छन् ।
२ माघ दिउँसो २ वजेवाट शुरु अनसनमा डा मधुर वस्नेत, डा दिल्लुराम कडेर, डा भगवत भट्टराइ र सन्तोस कुमार ढुङगाना सहभागी छन् ।
प्राध्यापक केसी जस्तो व्याक्तित्व स्वास्थ्यक्षेत्रमा विरलै पाइने भन्दै उनीहरुले त्रिवि अन्तर्गतको चिकित्सासास्त्र अध्ययन संस्थान र अन्य शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु नहुने माग जायज रहेको डा मधुर वस्नेतले बताए । उनले भने, “त्यस्तो व्यक्तित्वको मागमा समर्थन गर्नु र उहाँको जीवन रक्षाका लागि पहल गर्नु हामी सबैको कत्व्र्य हो । ”
यसअघि पनि प्राध्यापक केसीको आन्दोलनले संस्थानमा सुधार देखिएको तर त्यो उपलब्धिलाई सरकारले तुहाउन खोजेको डा वस्नेतले आरोप लगाए ।
सीता मादेम्बा, धरान
—————————————————————————————————————————
आईओएमका डिनको कार्यकक्षमा ताला
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का नवनियुक्त डिन शशी शर्माको राजीनामा माग्दै, शिक्षण अस्पतालका एमविविएस विद्यार्थीहरुले डिन लगायतका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
त्रिवि आईओएमका डिन शशी शर्माको राजीनामा र पूर्व डिन प्रकाश सायमीको पदस्थापना लगायतका ७ बुँदै माग राख्दै प्राध्यापक डाक्टर गोविन्द केसीले शुरु गरेको आमरण अनसनमा उनीहरुले ऐक्यवद्धता जनाएका छन् ।
डिन शर्माले कुनै पनि हालतमा राजीनामा नगर्ने बताएको भोलीपल्टै २ माघ विहान आन्दोलनरत विद्यार्थीहरुले शिक्षण अस्पतालका सबै पदाधिकारीहरुको कोठामा ताला लगाएका छन् ।
उनीहरुले डिन शर्माको राजीनामा नै अहिलेको समस्याको निकास हुने बताएका छन् ।
अस्पतालतमा कार्यरत इन्टर्न तथा रेजिडेन्ट चिकित्सहरुले १ माघ विहानदेखि नै प्रा. केसीको मागमा साथ दिंदै आन्दोलनमा सहभागि भएका थिए । उनीहरुले अस्पतालका इमर्जेन्सी र अन्तरंग सेवाबाहेकका सबै सेवा बन्द गराएका छन् ।
‘दबावका कारण राजीनामा’
त्रिवि आइओएम पूर्व डीन प्रकाश सायमीले अन्य मेडिकल कलेजलाई सम्बन्धनको लागि आफूमाथि दबाब परेकाले राजीनामा दिएको बताएका छन् ।
“अनावश्यक दबाबले मेरो मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर प¥यो । सोही कारण राजीनामा दिएको हुँ,” सायमीले २ माघमा जारी विज्ञप्तिमा भनेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानलाई राम्रो बनाउन छुट्टै विश्वविद्यालयको रुपमा विकास गरिनुपर्ने भन्दै उनले मेडिकल कलेजको सम्बन्धनका लागि राष्ट्रिय नीति निर्धारण नगर्दासम्म यस्ता समस्या बारम्बार दोहोरिरहने पनि उल्लेख गरेका छन् ।
सायमीले पुस १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए। पुस १८ गते बसेको त्रिबि कार्यकारी परिषदले उनको राजीनामा स्विकृत गर्दै डा शशि शर्मालाई डीनमा नियुक्त गरेको थियो ।
चिकित्सक संघ र चिकित्सक शिक्षक संघ पनि केसीको समर्थनमा
नेपाल चिकित्सक सङ्घले पनि आइओएमभित्रको समस्याको उचित समाधानका लागि सरोकारवाला सबै निकायलाई अनुरोध गरेको छ ।
“वरिष्ठ चिकित्सकलाई आमरण अनशन बस्ने वातावरण सिर्जना नगर्न नेपालमा कहाँ, कति चिकित्सक, स्वास्थ्यकर्मी र मेडिकल कलेज चाहिन्छ भन्ने सम्बन्धमा सरकारले अविलम्ब श्वेतपत्र जारी गर्न माग गर्दछ,” सङ्घले १ माघमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा नेपाल चिकित्सक संघ कडाभन्दा कडा कदम चाल्न बाध्य हुनेछ र, त्यसबाट उत्पन्न हुने परिस्थितिको पूर्ण जिम्मेवार नेपाल सरकार हुनुपर्ने छ ।”
त्यसैगरी चिकित्सक शिक्षक संघले पनि प्राध्यापक केसीको मागमा समर्थन जनाउँदै १ माघमा विज्ञप्ति जारी गरिसकेको छ ।
