थप समाचारशुक्रबार, माघ ३, २०७०
गोवामा मृत्यु भएका पाँच नेपालीको सामूहिक अन्त्येष्टि
गत २१ पुसमा गोवास्थित पाँच तले घर भत्केर मृत्यु भएका पाँच नेपाली युवाहरुको दाङ गोल्टाकुरीको सिमलकुनाघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ ।
मृतक युवाहरूको शव २ माघ राति उनीहरूका घरमा पुर्याइएको थियो । मृतकको शव भारत सरकारले काठमाडौँसम्म र नेपाल सरकारमार्फत दाङसम्म १२ दिनका दिन आइपुगेको हो ।
अत्यन्तै विपन्न परिवारका युवा रोजगारीका लागि भारतको गोवा गएका थिए । एकै ठाउँमा काम गर्ने दाङका सातमध्ये २१ पुस राति सुतिरहेको समयमा पाँचतले निर्माणाधीन घर भत्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरूमा गोल्टाकुरी–८ बङ्गलापुरका ताराबहादुर खड्का, दीपक ओली, वडा नं ६ कलमखोलाका सीताराम विक, दीपेश विक र फूलबारी गाविसका डम्बर नेपाली रहेका छन् । अन्य दुई जना भने ड्युटीमा भएको हँुदा बाँच्न सफल भएका थिए ।
मृतक सबै युवा त्यहाँ सुरक्षागार्डका रूपमा कार्यरत थिए । अन्त्येष्टिमा विभिन्न सरकारी कार्यालय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, मृतकका आफन्त तथा स्थानीयवासीको उपस्थिति थियो ।
रासस
