समाचारशुक्रबार, माघ ३, २०७०

‘अपराधी खुलेआम हिंडेको देख्दा मन दुख्छ’

हिमालखबर

राजधानीमा ३ माघमा भएको कार्यक्रममा द्वन्द्वपीडितहरुले न्याय पाउने आशामा लामो समय बितेको भन्दै अपराध गर्नेहरु खुलेआम हिंडेको देख्दा मन दुख्ने गरेको बताएका छन् । मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा उनीहरुले द्वन्द्वकालका गम्भीर अपराधमा संलग्नलाई अझै पनि कारबाही नभएको भन्दै दुःखेसो पोखे ।

न्यायका लागि द्वन्द्वपीडित समाज नेपालका अध्यक्ष जनकबहादुर रावतले द्वन्द्वपीडितलाई न्याय दिलाउन राज्यले बेवास्ता गरेको गुनासो गरे । उनले भने “द्वन्द्वकालका गम्भीर अपराधमा संलग्न खुलेआम हिडिरहेका छन्, तर राज्य उनीहरुलाई केही गर्दैन ।”

उनले द्वन्द्वपीडितलाई न्याय पाउन गार्‍हो भएको बताए । द्वन्द्वकालका अपराधका घटनाको छिटो छानबिन गर्न सरकार र दलका नेतासँग उनको आग्रह छ ।

द्वन्द्वपीडित जाजरकोट, लह खाल्चौरकी मैना कार्कीले न्याय पाई सक्नुपर्नेमा अझै पनि ‘न्याय पाऔं’ भन्दै हिड्नुपर्ने अवस्था रहेको गुनासो गरिन् । “द्वन्द्वकालका गम्भीर अपराधमा संलग्नहरु खुलेआम हिडिरहेकाहरु देख्दा मन चसक्क दुख्छ, तर यस्तो कुरा न नेताले सुन्छन्, न कसैले,” उनले भनिन, “आफ्नै परिवारका परेका भए नेताहरु ज्यूहरु के गर्नुुहुन्थ्यो ?”

द्वन्द्वपीडितहरुले गम्भीर अपराध गर्नेहरुलाई कारबाही भएको हेर्न चाहेको टिप्पणी गरिन् । कार्यक्रममा अधिवक्ता गोविन्द बन्दीले दल र नेताहरुले नै द्वन्द्वकालका गम्भीर अपराधमा संलग्नलाई बोकेर हिडिरहेकाले द्वन्द्वपीडितले न्याय नपाएको बताए ।

नेपाली कांग्रेसका नेता रामशरण महतले शान्ति प्रक्रियाको नाममा आफूहरुले न्यायका अन्तर्राष्ट्रिय मापदण्ड मिचेर गल्ति गरेको टिप्पणी गरे । उनले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन आफूहरुले कमजोरी गरेको पनि स्वीकारे । नेकपा एमालेका नेता भीम रावलले ढीला गरेर न्याय दिलाउने पक्षमा आफूहरु नभएको बताएका थिए  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>