थप समाचारशनिबार, माघ ४, २०७०
सुदूर र मध्यपश्चिम पहाडमा भारी हिमपात
पश्चिमका पहाडी जिल्लामा हिमपात भएपछि यहाँको जनजीवन कष्टकर बनेको छ । ३ माघ रातिबाट शुरु भएको हिमपात ४ माघमा पनि भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग र डडेल्घुरा–बैतडी दशरथचन्द राजमार्ग अवरुद्ध भएका छन् । हिउँले बाटो अवरुद्ध भएपछि दर्जनौ यातायातका साधनहरु बाटोमै रोकिएका छन् ।
वर्षासँगै हिमपात भएपछि चिसो पनि निकै बढेको छ । डेढ फिटसम्म हिउँ जमेको स्थानीयबासिन्दाले जनाएका छन् ।
कालीकोटमा पनि हिमपातले जिल्लाका माथिल्लो क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।
हिमपातका कारण सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत पर्ने कालीकोट र जुम्लामा समेत ठाउँठाउँमा बाटो भत्किएपछि यात्रुलाई कठिनाइ भएको छ ।
कालीकोट जिल्लाको माथिल्लो उच्च हिमाली क्षेत्र तथा जुम्ला, मुगु र बाजुराका सिमाना नजिकमा पर्ने गाविसका स्थानीयवासीको जीवन कष्टकर भएको छ । वर्षासँगै आएको हिमपातले स्थानीयवासीलाई दैनिक काम गर्नमात्र होइन बाहिर भित्र आवतजावत गर्नसमेत असर पारेको छ ।
यसअघि कमै मात्रामा हिउँ परेको खार्दुमा यसपटक अत्यधिक मात्रामा हिमपात भएको राम्नाकोटका महावीर थापाले जानकारी दिए ।
त्यसैगरी जुम्ला र मुगुमा पनि भारी हिमपात भएको छ ।
कपिल भट्ट, कैलाली

