समाचारआइतबार, माघ ५, २०७०
नेतृत्व हस्तान्तरण गर्न भट्टराईको माग
एमाओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी संगठन कमजोर भएको, निर्वाचनमा अनपेक्षित पराज व्यहोरेको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहालले लिनुपर्ने भन्दै नेतृत्व नयाँ पुस्तालाई हस्तानन्तरण गर्न माग गरेका छन् ।
दोस्रो संविधानसभा निर्वाचनमा बेहोरेको पराजयको समिक्षा गर्न बसिरहेको केन्द्रीय समितिको बैठकमा ४ माघमा पार्टीको चुनावी हारमा अध्यक्षले सबैभन्दा बढी र अरुले पदीय हैसियत अनुसार जिम्मेवारी लिनुपर्ने धारणा केन्द्रीय समितिमा राखेको केन्द्रीय सदस्य देवेन्द्र पौडेलले बताए ।
पार्टीको संगठनात्मक संरचना फेरबदल गर्नुपर्ने प्रस्ताव सहित दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल भैरहेको छ।
अहिलेको नेतृत्व पुस्ताले सामूहिक रुपमा नै दोस्रो पुस्तालाई जिम्मेवारी दिएर अघि बढ्नु पर्ने तर वैचारीक नेतृत्व पुराना पुस्ताले लिनुपर्ने धारणा भट्टराईले राखेको पौडेलको भनाई छ ।
दाहाल २० वर्षभन्दा बढी समयदेखि पार्टीको प्रमुख पदमा छन्।
