समाचारआइतबार, माघ ५, २०७०
मैले डिन नियुक्त नगर्नु भनेको थिएँ: अध्यक्ष रेग्मी
मन्त्रिपरिष अध्यक्ष खिलराज रेग्मीको निजी सचिवालयले विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई नयाँ डिन नियुक्तिको प्रक्रिया अघि नबढाउन सुझाव दिएको दावी गरेको छ ।
५ माघमा जारी विज्ञप्तिमा चिकित्साशास्त्र अध्ययन सँस्थानसँग सम्बन्धित समस्याहरुको निराकरणका लागि अध्यक्ष रेग्मीले डीन नियुक्तिपूर्व नै पटक–पटक छलफल गरेको र सम्बन्धित निकायलाई हाल नयाँ डीन नियुक्तिको प्रक्रिया अघि नबढाउन सुझाव दिएको उल्लेख छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले त्रिवि डिन नियुक्तिमा मन्त्रिपरिषद अध्यक्षको समेत संलग्नता रहेको बताएपछि अध्यक्षको रेग्मीको सचिवालयले उक्त विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा चिकित्साशास्त्र अध्ययन सँस्थानका डीन नियुक्तिका विषयमा उत्पन्न विवाद र समस्या यथाशक्य समाधान गरी स्वास्थ्य सेवा सुचारु रुपमा सञ्चालन गराउने कार्यमा अध्यक्ष रेग्मी संवेदनशीलताका साथ क्रियाशील रहेको पनि दाबी गरिएको छ ।
