समाचारआइतबार, माघ ५, २०७०
डिन नियुक्ति फिर्ता लिन शिक्षामन्त्रीको निर्देशन
त्रिविका उपकुलपति हिराबहादुर महर्जनलाई ५ माघमा चारबुँदे निर्देशन दिंदै शिक्षामन्त्री माधव पौडेलले डिनमा डा. शशी शर्माको नियुक्ति फिर्ता लिन निर्देशन दिएका छन् ।
मन्त्री पौडेले दिएको निर्देशनमा भनिएको छ, “चिकित्साशास्त्र अध्ययन संस्थानमा हालै भएको डीन नियुक्ति गर्ने त्रिविबाट लिइएको निर्णयप्रति उत्तरदायित्व बोधगरी यथाशीघ्र पुनर्विचार गरी अनशनमा रहनुभएका प्राडा गोविन्द केसीको माग संबोधन गरी वहाँको जीवन रक्षा गर्न यो निर्देशन दिइएको छ ।”
मन्त्री पौडेलले पहिलेका डिन डा. प्रकाश सायमिको राजीनामा अस्वीकृत गर्न पनि निर्देशन दिएका छन् ।
प्राडा केसीको जीवन रक्षा गरः एमाले
नेकपा एमालेले चिकित्साशास्त्र अध्ययन संस्थानमा देखिएको विवादलाई वार्ता र संवादको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको छ । एमालेको केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या विभागको ५ माघमा बसेको बैठकले संस्थानमा दीर्घकालिन समाधान खोज्न सरकार र सरोकारवाला निकायलाई आग्रह गरेको हो ।
विभागका प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा अनशनमा रहेका प्राडा गोविन्द केसीको स्वास्थ्य स्थिति र उनका मागलाई समाधान गर्दै जीवनरक्षाको माग गरिएको छ ।
