समाचारबुधबार, माघ ८, २०७०
संविधानसभाको पहिलो बैठक सम्पन्न
त्यसैगरी बैठकमा मन्त्रिपरिषद्का अध्यक्षको बैठक आह्वानसम्बन्धी पत्र संविधानसभाका सदस्यहरुलाई सुनाइएको छ ।
यसबाहेक बैठकमा अन्य महत्वपूर्ण विषयमा छलफल हुन सकेन ।
————————————————————————————————————————–
संविधानसभाको पहिलो बैठक आज बस्दै
जनप्रतिनिधिमार्फत नयाँ संविधान लेख्नका लागि गठन भएको दोस्रो संविधानसभाको पहिलो बैठक नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न बस्दैछ ।
संविधानसभाको निर्वाचन भएको दुई महिनापछि ८ माघमा बस्न लागेकोे पहिलो बैठकमा संविधानसभामा मन्त्रिपरिषद्ले मनोनयन गर्न बाँकी रहेका २६ बाहेक प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीद्वारा चुनिएका सभासद्को सहभागिता हुनेछ ।
यस पटकको संविधानसभा दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका सभासद्को प्रतिनिधित्व छ । यो संविधानसभामा अघिल्लो संविधानसभामा झन्डै ८५ प्रतिशत नयाँ अनुहार छन् ।
अघिल्लो संविधानसभामा निर्वाचित हुन नसकेका कांग्रेसका सभापति सुशील कोइरालादेखि नेकपा (एमाले) का वरिष्ठ नेता केपी ओली, वामदेव गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका पार्टी नेतृत्व सम्हाल्दै आएका नेताहरूको भने यसपटक सहभागिता रहेको छ ।
यसपटक निर्वाचनमा हारे पनि कतिपय साना पार्टीका अध्यक्षहरूले आफ्ना पत्नीलाई समानुपातिकतर्फको प्रतिनिधि बनाएका छन् । यस्तो अवसर पाउनेमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा छन् ।
त्यस्तै राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पत्नी आरजु, नेकपा (एमाले)का नेता अमृत बोहराका धर्मपत्नी अष्टलक्ष्मी शाक्यले समेत एकै घरबाट दुई जनाले प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । सभामा उमेरका हिसाबले ज्येष्ठ सदस्य थापा हुन् भने सबैभन्दा कान्छो उमेरकी सरिताकुमारी यादव हुन् ।
संविधानसभाको बैठकलाई औपचारिकता प्रदान गर्ने क्रममा ज्येष्ठ सदस्य थापाले नयाँबानेश्वरस्थित संविधानसभा सचिवालयमा ७ माघमा आयोजित समारोहमा ५६५ जना नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
निर्वाचित संविधानसभाबाट संविधान बनाउने पहिलो देश फ्रान्स हो । यो विधिबाट ४२ राष्ट्रले संविधान बनाउने प्रयास गरेकामा कोही सफल र कोही असफल छन् । यो विधिबाट संविधान बनाउने बोलिभिया पछिल्लो देश हो भने नेपाल यो प्रक्रियाबाट संविधान बनाउन प्रयत्नशील छ ।
संविधानसभाको पहिलो बैठकमा मन्त्रिपरिषद्का अध्यक्षको बैठक आह्वानसम्बन्धी पत्र वाचन गर्ने, सभाको ज्येष्ठ सदस्यको अनुपस्थितिमा सभा सञ्चालन गर्ने अन्य व्यक्तिको चयन गर्ने तथा नयाँ नियमावली नबनुञ्जेलका लागि विद्यमान नियमावलीअनुसार सभा सञ्चालन गर्ने विषयलाई अनुमोदन गर्ने कार्यसूची रहेको बुझिएको छ ।

