थप समाचारबुधबार, माघ ८, २०७०
६ लेन सडकमा एक वर्षमा २६ जनाको मृत्यु
भक्तपुरको मनोहरादेखि सूर्यविनायक चोकसम्मकोे सडक खण्डमा गत एक वर्षमा भएको २५२ वटा सवारी दुर्घटनामा २६ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा २८० जना घाइते भएका छन् ।
कोटेश्वर–भक्तपुर सडक खण्ड निर्माण भएयता सवारी दुर्घटनामा मानिसको मृत्यु नभएको पहिलो महिना पुसमात्रै भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए । तर पुसमा भएका २२ वटा दुर्घटनामा ४० जना घाइते भएका थिए ।
६ लेन सडकमा गत मंसीरमा सबैभन्दा बढी ३६ वटा दुर्घटना भएको थियो । यसमा ५३ जना घाइते हुनुका साथै ४ जनाको मृत्यु भएको थियो । गएको एक वर्षमा सबैभन्दा कम असारमा ११ वटा दुर्घटना भएका थिए जसमा एक जनाको ज्यान जानुका साथै १४ जना घाइते भएका थिए ।
उक्त सडक खण्डमा गत पुस महिनादेखि महिला प्रहरीको विशेष टोली परिचालन गरेपछि दुर्घटना न्यूनीकरणमा उल्लेख्य सुधार आएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
छ लेन सडक खण्डमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति भएको बताउँदै उनले महिला प्रहरीको टोलीले तीव्र गतिमा सवारी चलाउने चालकलाई चेतावनी दिने गरेको जानकारी दिए ।
महिला प्रहरीको टोलीलाई ६ लेनमा हुने दुर्घटनाको आकस्मिक उद्धारलगायत दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रुलाई बाटो काट्न मद्दत गर्ने जिम्मेवारी दिइएको श्रेष्ठले बताएका थिए ।
