थप समाचारशुक्रबार, माघ १०, २०७०
प्राडा केसीले क्षमा मागे, अनसनपछि आइसीयू भर्ना (वक्तव्यसहित)
चिकित्साशास्त्र अध्ययन संस्थानको समग्र सुधार र विकासका लागि ७ बुँदे माग राख्दै २७ पुसदेखि अनसन बसेका प्राडा गोविन्द केसीले आफ्नो आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिंदै आन्दोलनबाट दुख पाएकाहरुसँग क्षमा मागेका छन् ।
१० माघ बिहान शिक्षण अस्पतालमै भर्ना भएकी ८ वर्षीया बिरामी बालिका एलिसा थापाबाट जुस पिएर अनसन तोडेका प्राध्यापक केसीले चिकित्सा क्षेत्रको स्वच्छताका लागि नै सबैले दुख पाउनु परेको भन्दै फेरि यस्तो अवस्था नआउने आशा समेत ब्यक्त गरेका छन्।
अनसन तोडेपछि गलेको शरीरबाट मसिनो स्वर निकाल्दै उनले भने, “सत्यका र न्यायका लागि यो आन्दोलन गर्नु परेको हो ।”
अससन तोडेपडि प्राध्यापक केसी शिक्षण अस्पतालकै सघन उपचार कक्षमा भर्ना भएका छन् ।
यसअघि उनको लिखित वक्तव्य रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष किशोर खनालले पढेर सुनाएका थिए।
केसीका मागप्रति सरकारका तर्फबाट प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाँस्कोटाले केसीका सवै माग यथाशिघ्र पूरा गरिने बताएका थिए।
डा. केसीका तर्फबाट पढेर सुनाइएको वक्तव्यको पूर्ण पाठः
प्यारा दिदीबहिनी तथा दाजुभाइहरु
शुरुमा, मेरो ब्रह्मले देखेको सत्य र न्यायको बाटोमा विश्वास गरिदिनुभएकोमा यहाँ उपस्थित तथा अनुपस्थित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आमरण अनशनको १४ दिनसमम मलाई त्यही विश्वास एवं स्नेहले नै जोगाएको म ठान्दछु ।
नेपाली स्वास्थ्य क्षेत्रको कालकुट विषलाई पिएर निलकण्ठ बन्ने ध्याउन्न मेरो कदापी हैन । मैले त राजनीतिको नाममा मौलाएको माफियातन्त्रको जरो हल्लाउने प्रयासमात्र गरेको हुँ । यसको लागि आफ्नो जीवन उत्सर्ग गर्ने तत्परतालाई मैले मेरो जीवन मूल्यकै रुपमा प्रयोग गरेको हुँ ।
गएका केही वर्ष र विशेष गरी गएका २ हप्ता हाम्रो प्यारो संस्थान र देशकै लागि उतारचढावपूर्ण रहे, र आज हामी यो दिनसम्म आइपुगेका छौं । यस सन्दर्भमा मेरा बटमलाईनहरुले मात्र मेरा मागहरुको मर्मलाई बोक्न सक्छन भन्ने कुराको हेक्का मलाई राम्रोसँग छ । मेरा मागहरुको समर्थनमा सारा चिकित्सकहरु एकजुट भएको जान्दाजान्दै पनि, सारा चिकित्सकहरु आफ्नो चिकित्सकीय धर्ममा बसेर समर्थनमा उत्रिंदा उत्रंदै पनि, आखिरमा देशभरको स्वास्थ्य सेवा र नागरिकहरुको जीवन प्रभावित भएको सत्यसँग म राम्रोसित परिचित छु । यसको पृष्ठभूमिमा सरकारको तर्फबाट व्यक्त भएको यो तहको प्रतिवद्धता र मलाई माया गर्ने सम्पूर्णको सदाशयता र सहमतिमा मैले अनशन तोड्ने निर्णय गरेको हुँ ।
तर प्रतिवद्धता पूरा नहुन्जेल र मुलतः यो सारा अभियानको आत्मालाई सम्बोधन भएको प्रत्याभूति नहुन्जेल यो आन्दोलन पृथक रुपमा जारी रहनेछ भन्ने उद्घोष पनि गर्न चाहन्छु । त्यतिबेला पनि यसरी ने सबैको साथमा एउटा सुसभ्य, सुसंस्कृत र प्राज्ञिक संस्थाको निर्माण गर्न पाइयोस् भन्ने इच्छा जाहेर गर्न चाहन्छु ।
आज जे जति पनि हासिल भएको छ, यसको श्रेय म देशभरका मेरा प्यारा विद्यार्थी तथा रेजिडेण्टहरु, नेपाल चिकित्सक संघको नेतृत्वमा आन्दोलनमा उत्रेका देशभरका चिकित्सक मित्रहरु, सिंगो पत्रकारिता जगत, स्वास्थ्य क्षेत्रलगायतका सम्पूर्ण पेशागत संघ संगठनहरु, सम्पूर्ण सामाजिक संस्थाहरु, देश विदेशका सम्पूर्ण शुभचिन्तकहरु तथा मेरो सुस्वास्थ्यको कामना गर्नुहुने सम्पूर्ण सर्वसाधारणहरुलाई दिन चाहन्छु ।
धन्यवाद
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, काठमाडौं

