समाचारशनिबार, माघ ११, २०७०

जोखिममा हिउँचितुवा

हिमालखबर

कञ्चनजंघाको घान्जेङ्गजुङ्गा क्षेत्रका हिउँचितुवाको घाँटीमा स्याटेलाइट रेडियो कलर झुण्ड्याइँदै।

– श्रीलाल साह, नेपालगञ्ज
कञ्चनजंघाको घान्जेङ्गजुङ्गा क्षेत्रका हिउँचितुवाको गतिविधि काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कम्प्युटरमा नियाल्न सक्नुलाई संरक्षण क्षेत्रमा भएको एउटा गतिलै प्रगती मान्नुपर्छ। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), नेपालको सहयोगमा करीब डेढ करोड रुपैयाँ खर्चेर एउटा हिउँचितुवाको घाँटीमा स्याटेलाइट रेडियो कलर झुण्ड्याएपछि यस्तो सम्भव भएको हो, तर यो सुरुआत मात्र हो।

गत ५–६ कात्तिकमा किर्गिस्तानको बिस्केकमा हिउँचितुवा पाइने विश्वका १२ राष्ट्रको ‘स्नो लेपर्ड कन्जरभेसन फोरम’ बसेको थियो। उक्त सम्मेलनले हिउँचितुवाको वैज्ञानिक अध्ययन, अनुसन्धान र अनुगमन गर्ने घोषणापत्र पारित गरेको पैंतीसौं दिनमा नेपालले घान्जेङ्गजुङ्गामा हिउँचितुवाको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गर्‍यो। विभागका इकोलोजिष्ट डा.महेश्वर ढकाल यो प्रविधिले कम्तीमा एक वर्षसम्म काम गर्ने बताउँछन्।

मुलुकको हिमाली र उच्चपहाडी भू–भागको २७ हजार ४३२ वर्गकिलोमिटर क्षेत्रफलको हिउँचितुवा बासस्थलमध्ये ५० प्रतिशत भन्दा बढी अझै संरक्षित क्षेत्रमा समेटिएका छैनन्। संरक्षित क्षेत्र भित्रै अस्तित्व संकटमा रहेको यो दुर्लभ वन्यजन्तुले बाहिर बेहोर्नु परेको खतरा सजिलै अनुमान गर्न सकिन्छ।

गौरीशंकर संरक्षण क्षेत्रको रोल्वालिङ उपत्यकाको ना गाउँ इलाकामा प्रशस्त पाइने नाउर र झ्ारल अहिले लोप भइसकेका छन्। आहारा लोप भएपछि त्यहाँ हिउँचितुवा पनि लोप हुँदै गएको संरक्षणकर्मीहरू बताउँछन्। रोल्वालिङ उपत्यकालाई चार वर्ष अगाडि मात्र गौरीशंकर संरक्षण क्षेत्रमा समावेश गरियो। “संरक्षणमा ढिलासुस्ती भएकै हो”, विभागका एक अधिकारी भन्छन्, “ना गाउँमा जस्तै थुप्रै क्षेत्रमा हिउँचितुवाको अस्तित्व संकटग्रस्त बनेको छ, कतिपय ठाउँबाट हराइसके।”

डब्लुडब्लुएफ, नेपालको सहयोगमा विभागले कञ्चनजंघा संरक्षण क्षेत्र (केक्याप) मा हिउँचितुवा संरक्षणका विविध कार्यक्रम संचालन गरिरहेको छ भने स्नो लेपर्ड कन्जरभेन्सी (एसएलसी) को सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा। यी दुई संस्थाले अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्दैछन्। सगरमाथा क्षेत्रको खुम्जुङ गाविसको फोर्त्चे र नाम्चेका थामे, थाम्बेतेन र ठमो मध्यवर्ती क्षेत्रमा एसएलसीले गत दुई वर्षदेखि थालेको संरक्षण अभियान प्रशासनिक झ्मेलाका कारण यो वर्षबाट रोकिएको छ। गौरीशंकर संरक्षण क्षेत्रको तातोपानी, गुम्बा लगायतका क्षेत्रका स्थानियहरुले एसएलसीलाई कार्यक्रम संचालन गर्न दिएका छैनन्।

कति छन् हिउँचितुवा?

नेपालमा ३०० देखि ५०० सम्म हिउँचितुवा रहेको स्थापित मान्यता भए पनि डब्लुडब्लुएफ, नेपालको नयाँ अध्ययनले यो संख्या ३०१ देखि ४०१ सम्म रहेको देखाएको छ, जसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मान्यता दिएको छैन।

नेपालमा हिउँचितुवा संरक्षणका अग्रणी डा. रोड्नी ज्याक्सन, डा.सोम आले, प्रा.करण शाह लगायतले यो संख्यामा सहमत नरहेको बताउने विभागका इकोलोजिष्ट डा.ढकाल अहिले गणनामार्फत सन् २०१५ सम्ममा वास्तविक तथ्याङ्क आउने बताउँछन्। उनका अनुसार, गणना सकिएको कञ्चनजंघा क्षेत्रमा २४ वटा हिउँचितुवा पाइएको छ। सगरमाथा, लाङटाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमा गणना जारी छ। शे–फोक्सुण्डो, गौरीशंकर, मकालु वरुण, अपि नाम्पा आदि संरक्षण क्षेत्र भित्र र बाहिरका हिउँचितुवा वासस्थलमा गणना बाँकी छ। हिउँचितुवाको दिसा संकलन गरेर ल्याव परीक्षण विधिबाट गनिने हुनाले समय लाग्ने विज्ञहरू बताउँछन्।

गत वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रको तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङमा गरिएको क्यामरा ट्रयापिङबाट पाँच–पाँच वटा हिउँचितुवा देखिएको थियो। मुस्ताङमा अहिलेसम्म १२ र अन्नपूर्ण क्षेत्रमा ५० वटा हिउँचितुवा रहेको स्नो लेपर्ड कन्जरभेन्सी, नेपाल कार्यक्रमका संयोजक विक्रम श्रेष्ठ बताउँछन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुगु क्षेत्रमा प्रति १०० वर्ग किलोमिटरमा सबभन्दा बढी १०–१२ वटा र सगरमाथा राष्ट्रिय निकुञ्जमा सबभन्दा कम १–३ वटा हिउँचितुवा रहेको अनुमान छ। त्यसैगरी, कञ्चनजंघामा ३–५, अन्नपूर्णको फू क्षेत्रमा ४–५, मनाङ क्षेत्रमा ४–७ र शे–फोक्सुण्डो डोल्पा क्षेत्रमा ५–७ वटा हिउँचितुवा रहेको अनुमान छ।

अध्ययन र संरक्षण

सन् १९८१ मा अमेरिकाका रोड्नी ज्याक्सनले पहिलो पटक मुगु जिल्लाको डोल्फूमा पर्ने लाङ्गु उपत्यकामा पाँच वटा हिउँचितुवा समातेर रेडियो कलर जडान गरी पाँचवर्षे अध्ययन गरेका थिए। नेपालमा हिउँचितुवाको संरक्षण अभ्यास त्यहींबाट शुरू भएको हो। त्यही अध्ययनबाट विधावारिधि गरेका डा.ज्याक्सनले पछि स्नो लेपर्ड कन्जरभेन्सी (एसएलसी) स्थापना गरेका हुन्। ७० वर्षीय डा.ज्याक्सनले नै नेपाललाई पहिलो पटक हिउँचितुवाको देश भनेर विश्वसामु चिनाएका थिए। हिउँचितुवाको संख्याको हिसाबले नेपाल विश्वको तेस्रो ठूलो देशमा गनिन्छ।

लाङ्गु उपत्यकामा डा. ज्याक्सनसँग काम गरेका प्रा.शाह त्यतिवेला त्यहाँ हिउँचितुवाको प्रशस्त शिकार हुने गरेको बताउँछन्। मानव अतिक्रमणले बासस्थल र आहार घट्दै गएकोले घरपालुवा जनावरमाथि आक्रमण गर्ने हुनाले अहिले पनि कतिपय ठाउँमा हिउँचितुवालाई ‘हिमाली प्रेत’ ठानिन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले हिउँचितुवा मार्ने, हानि पुर्‍याउने, आखेटोपहार व्यापार वा निर्यात गर्नेलाई रु.५० हजारदेखि रु.१ लाखसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेको छ। दुर्लभ वन्यजन्तु तथा वनस्पति सम्बन्धी अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले हिउँचितुवाको जीवित वा मृत ओसारपसार र व्यापारलाई प्रतिबन्ध गरेको छ। विश्व संरक्षण संघ (आईयूसीएन) ले पनि हिउँचितुवालाई संकटापन्न भनेर ‘रेड डाटा बुक’ मा सूचीकृत गरेको छ। तर, हिउँचितुवाको बासस्थल क्षेत्रहरूमा सरकारको उपस्थिति शून्यप्राय रहेकोले चोर–शिकारी र आखेटोपहारका व्यापारीलाई सजिलो भएको छ। कानून कार्यान्वयन निकायहरू हिउँचितुवाको अपराधीसम्म पुग्न सकेका छैनन्, पक्राउ व्यक्तिहरू पनि धरौटीमा रिहा भएका छन्।

_____________________________________________________________________________________

क्यामरामा पलास क्याट

स्नो लेपर्ड कन्जरभेन्सी (एसएलसी) ले माथिल्लो मनाङमा तीन साताअघि गरेको क्यामरा ट्रयापिङमा पलास क्याट (मध्य एशियामा पाइने एक प्रकारको हिमाली बिरालो) देखियो। नेपालमा पहिलो पटक पाइएको पलास क्याटको वैज्ञानिक नाम फेलिस मानुअल भएको वन्यजन्तु विज्ञ प्रा.करन शाह बताउँछन्। उनका अनुसार, पलास क्याटसँगै नेपालमा पाइने स्तनधारी जनावरको संख्या २११ पुगेको छ। ४००० मिटरभन्दा माथि बस्ने पलास क्याटलाई विश्व संरक्षण संघ (आईयूसीएन) ले सन् २००२ बाट ‘रेड डाटा बुक’ मा राखेको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>