समाचारआइतबार, माघ १२, २०७०
संसदीय दलको नेतामा कोइराला विजयी
१२ माघमा सम्पन्न नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति सुशील कोइराला प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवालाई हराउँदै संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
खसेको १९४ मतमध्ये कोइरालाले १०५ मत प्राप्त गरे भने देउवाले ८९ मतमात्र प्राप्त गरेका छन् । सभापति कोइराला र नेता देउवाको मतअन्तर १६ रहेको निर्वाचन समितिका संयोजक र पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
संसदीय दलका नेत चयन भएपछि कोइरालाले लोकतान्त्रिक पद्धतिबाट मतदान सम्पन्न भएको प्रतिक्रिया दिँदै पार्टीलाई आफूले एकता, सहमति र सहकार्यको प्रक्रियाबाट एकढिक्का बनाएर लैजाने प्रतिक्रिया दिए ।
नेपाली कांग्रेसको विधान अनुसार संसदीय दलको नेता प्रधानमन्त्री पदको उम्मेदवार हुन्छ ।
————————————————————————————————————————–
कांग्रेस संसदीय दलको निर्वाचन जारी
कांग्रेस संसदीय दलको नेता चयनका लागि जारी निर्वाचनको क्रममा भोटिङ मसिन बिग्रिएपछि केहीबेरका लागि स्थगित भएको निर्वाचन पुन: शुरु भएको छ ।
हिमालखबर
आईतबार , १२ माघ २०७० १०:११ एम
१२ माघ विहानदेखि शुरु भएको कांग्रेस संसदीय दलको निर्वाचनमा १७ जनाले मत खसालेकोमा १६ मात्रै मत देखाएपछि निर्वाचन केहीबेरका लागि स्थगित भएको थियो ।
१७ जना सभासदले मतदान गरेकोमा मसिनले १६ भोट मात्र देखाउँदा समस्या आएको हो । अहिले पुन: मतदान शुरु भएको छ ।
सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजेदेखि निर्वाचन शुरु भएको हो ।
संसदीय दलको नेता बन्न सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा प्रतिस्पर्धामा छन् ।
१९४ सभासद् रहेको कांग्रेसमा जित्नेले ९६ मत पाउनुपर्नेछ ।
यसअघि संसदीय दलको नेताका दावेदार उपसभापति रामचन्द्र पौडेलले सभापति कोइरालालाई सहयोग गर्ने भन्दै उम्मेदवारी दिएनन् ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाउने सभापति कोइरालाको आश्वासनपछि पौडेल प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।
