समाचारसोमबार, माघ १३, २०७०

कोरिया जान बैंक खाता अनिवार्य

हिमालखबर

दक्षिण कोरियाले १८ माघदेखि लागू हुने गरी नयाँ व्यवस्था गरेको हो । कोरियाले कामदारलाई आफ्नै देशमा बैंक खाता खोल्नैपर्ने नयाँ व्यवस्था लागू गरेको हो ।

अब कोरिया जाने कामदारले आफ्नै नाममा बैंक खाता खोलेर त्यसको विवरण राजधानीस्थित ईपीएस कार्यालयमा बुझाउनु पर्नेछ । कोरियाली सरकारले श्रम तथा रोजगार मन्त्रालयलाई उक्त व्यवस्था गर्न र कामदारले उपलब्ध गराएको विवरण कोरिया पठाउन गरेको अनुरोधअनुसार नेपाली श्रमिकले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा खाता खोल्नुपर्नेछ ।

श्रम सम्झौताको अवधि समाप्त भई स्वदेश फर्कने बेलामा सम्बन्धित कामदारले नियमानुसार प्राप्त गर्ने ‘फिर्ता प्रत्याभूति बिमा’ सम्बन्धित कामदारलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले बैंक खाता अनिवार्य गरिएको श्रम विभाग, ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताए । कोरियाबाट सम्बन्धित कामदार स्वदेश फर्केको १४ दिनभित्र बिमा रकम सोही खातामार्फत भुक्तानी दिने व्यवस्था कोरियाले गरेको उनले जानकारी दिए ।

उनले कोरियामा काम गरेर फर्केका र पुनः जानेहरूले पनि खाता खोल्नुपर्ने बताए । उनले भने, “१८ माघ पछि कोरिया जाने सबै श्रमिकले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्नेछ र त्यसो गरेको प्रमाणस्वरुप चेकबुक, पासबुक वा बैंक स्टेटमेन्ट साथै लिएर प्रस्थान गर्नुपर्नेछ ।”

सरकार र गणतन्त्र कोरियाबीच सात वर्षअघि भएको समझदारीअनुसार ईपीएसअन्तर्गत २१ हजारभन्दा बढी नेपाली कामदार कोरियामा छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>