समाचारमंगलबार, माघ १४, २०७०

एमाओवादी निर्णय, ‘सरकारमा जाँदैनाैं’

हिमालखबर

१४ माघमा बसेको एमाओवादी केन्द्रीय कार्यालयको बैठकले संविधान निर्माणमा मात्रै केन्द्रित हुने भन्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणलाई पहिलो र सरकारलाई दोस्रो प्राथमिकतामा राख्ने ठहर गरेको छ ।

‘‘सरकार हाम्रो प्राथमिकताको विषय होइन, नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए हुन्छ, हामी रचनात्मकरुपमा प्रतिपक्षमा रहेर सहयोग गर्छौँ”, बैठकपछि पार्टी नेता पोष्टबहादुर बोगटीले भने ।

जनादेशलाई सम्मान गर्दै सरकार गठनलगायतका विषयमा कांग्रेस, एमाले अगाडि बढ्नु जायज भएको भन्दै बैठकले संविधान निर्माणको विषय नै पहिलो प्राथमिकता रहेको उनले बताए ।

यस्तै बैठकमा पार्टीको विशेष संगठनात्मक महाधिवेशन, पार्टी नेतृत्वको आचारण सुधार, संविधानसभा निर्वाचनमा भएको पराजयलगायतका विषयमा छलफल भएको थियो ।

व्यवस्थापिका–संसद्को बैठक शुरु भइसकेको भन्दै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक छनोट गर्ने विषयमा समेत छलफल भए पनि कुनै पनि निर्णयमा पुग्न नसकेको नेता बोगटीको भनाइ छ ।

यस्तै आजै बस्ने भनिएको केन्द्रीय समितिको बैठक १५ माघसम्मका लागि स्थगित भएको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले पार्टी नेतृत्वको आचरणलगायतका विषयमा कुरा उठाएपछि त्यसलाई के कसरी समाधान गर्ने भन्ने विषयमा एमाओवादीले चरण–चरणमा छलफल गर्दै आएको छ ।

केन्द्रीय कार्यालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरे पनि सो निर्णय केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

एमाओवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष दाहाल, नेतात्रय डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>