समाचारआइतबार, साउन २१, २०६९
राष्ट्रपतिद्वारा दलहरुसँग सामूहिक परामर्श
राष्ट्रपतिभवन शीतलनिवासमा २१ साउनमा एनेकपा माओवादी, नेपाली कांगे्रस, नेकपा एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत विघटीत संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन । मुलुकको राजनीतिक गत्यावरोध अन्त्यका लागि पटकपटक दलहरुलाई आग्रह गरिसकेका राष्ट्रपति डा. रामवरण यादवले यसपटक २० साउनमा सबै दललाई पत्र काटेरै परामर्शका लागि बोलाएका हुन ।
बिहान नौ बजेदेखि जारी परामर्शमा राजनीतिक सहमति कायम गरी मुलुकलाई निकास दिन राष्ट्रपति यादवले दलहरुसँग आग्रह गरेका छन् । दलहरुले भने परामर्शमा आ-आफ्नै अडान दोहोर्याइरहेका छन् । सत्ता गठबन्धन दलहरुले विगतमा सहमति जुट्न नसकेका संविधानका विवादित विषयमा पहिले सहमति जुटाउनुपर्ने अडानमा रहेका छन् भने काँगे्रस, एमालेलगायतका विपक्षी दलले पहिले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने जनाएका छन् ।
परामर्शबाट बाहिरिने क्रममा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारद्वारा ७ मङ्सिरका लागि निर्धारण गरिएको संविधानसभाको निर्वाचन हुन नसक्ने निर्वाचन आयोगको भनाइपछि निर्वाचनको अर्को मिति तय गरेर सहमतिमा जानुपर्नेमा छलफल भइरहेको जानकारी दिए ।
कांगे्रस उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मकरुपमा अगाडि बढिरहेको जानकारी दिँदै विगतमा भएका सातबुँदे र पाँचबुँदे सहमति तथा विघटित संविधानसभाको संवैधानिक समितिबाट टुङ्ग्याउन बाँकी विवादित विषयमाथि छलफल भइरहेको बताए । ‘हाम्रो पहिलो प्राथमिकता प्रधानमन्त्रीको राजिनामा हो,’ उनले भने, ‘नयाँ सरकार गठन भएपछि राजनीतिक सङ्कट समाधानका लागि कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल केन्द्रित रहेको छ तर आजै निकास आइहाल्छ भन्नेमा विश्वस्त भइहाल्ने अवस्था छैन ।’
परामर्शमा राष्ट्रपति र प्रधानमन्त्रीले आआफ्ना भनाइ राख्न बाँकी रहेको पनि उनले जानकारी दिए । कांगे्रस वरिष्ठ नेता शेरबहादुर देउवा र केन्द्रीय सदस्य रामशरण महत पोखरामा जारी पार्टीको जिल्ला सचिवको बैठकमा भाग लिन जान लागेको भन्दै परामर्शबाट बाहिरिएका छन् । रासस
