समाचारमंगलबार, माघ १४, २०७०

कांग्रेसको प्रस्ताव, ‘कोइरालालाई प्रधानमन्त्री’

हिमालखबर

सरकार गठनका लागि छलफललाई तीब्रता दिएको कांग्रेसले संविधानसभामा प्रतिनिधित्व गर्ने दललाई सघाउन आग्रह गरेको हो । १४ माघमा संविधानसभा भवन नयाँ बानेश्वरमा भएको सर्वदलीय छलफलमा कांग्रेसले सभापति तथा संसदीय दलका नेता सुशिल कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्दै सघाउनलाई आग्रह गरेको हो ।

बैठकपछि वरिष्ठ नेता शेरबहादुर देउवाले सबै दलले सहमतिका लागि सकारात्मक धारणा राखेको जानकारी दिए । उनले भने, “कांग्रेसको नेतृत्वमा छिट्टै सरकार गठन हुन्छ ।”

छलफलमा सहभागी दलका नेताहरुले कांग्रेसले थालेको छलफलले सहमतिको वातावरण बनेको प्रतिक्रिया दिए । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेसले उपयुक्त प्रस्ताव ल्याए सरकारमा सहभागी हुने बताए । उनले संविधान निर्माणमा सहजता ल्याउन कांग्रेसले सरकार गठनको स्पष्ट खाकासहितको ठोस प्रस्ताव ल्याउन सुझाव दिएको जानकारी दिए ।

एमाओवादी नेता गिरीराजमणी पोखरेलले आफ्नो दल संविधान निर्माणमा मात्र केन्द्रित हुने बताए । “कांग्रेसको नेतृत्वमा बन्ने सरकारले संविधान निर्माणमा सहजीकरण गर्नुपर्छ,” पोखरेलले भने ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले आफूहरु संविधान लेखनलाई प्राथमिकतामा राखेकाले सरकारमा सहभागी हुने बारे निर्णय गरिनसकेको बताए । छलफलमा राप्रपा नेपाल र तमलोपाका नेता भने सहभागी भएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>