समाचारबुधबार, माघ १५, २०७०
तीन दलको प्रस्ताव दर्ता भएन
संविधानसभाको बैठकमा प्रक्रिया नपुर्याई अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण गर्ने प्रस्ताव पेश गर्न खोजिएको भन्दै राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले बिरोध जनाएका हुन् । दुई दलले बिरोध जनाए पछि १५ माघमा बसेको बैठकमा प्रस्ताव पेश हुन नसकेको हो ।
बैठकमा तीन दलले तयार पारेको प्रस्तावलाई पेश गर्ने बताइएपनि दुई दलले बिरोध गरे पछि कार्यव्यवस्था परामर्श समिति मात्र गठन भएको छ । बैठकले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल सदस्य रहेको परामर्श समिति गठन गरेको हो ।
कार्यदलले एक वर्षभित्र संघीय लोकतान्त्रिक संविधान जारी गर्ने र अघिल्लो संविधानसभामा भएको सहमति ग्रहण गर्ने दुईबुँदे प्रस्ताव तयार पारेको थियो । तर, प्रमुख तीन दलले छलफल नगरी एकलौटी रुपमा प्रस्ताव ल्याएको भन्दै राष्ट्रिय जनमोर्चाले बिरोध जनाएको हो । राप्रपा नेपालले भने यसअघि नै अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण नगर्ने स्पष्ट पारिसकेको छ ।
