समाचारबुधबार, माघ १५, २०७०
२३ भारतीय तस्कर झापामा पक्राउ
झापा प्रहरीले १५ माघ बिहान २३ जनाको समूहमा रहेका तस्करहरुलाई ७ हजार ७०० किलो सुपारी, ३२३ थान सल, ८६ थान तन्ना, ६१० थान भेष्ट, १३० थान कट्टु सहितका सामानसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको भद्रपुर– २ बाट उनिहरुलाई नियन्त्रणमा लिई बरामद गरिएको सामानसँगै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
तस्करहरुलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि तस्करहरुले ढुंगामुढा गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको थियो ।
प्रहरीले भारतबाट गञ्जी, कट्टु, सल, सारी जस्ता कपडा भन्सार छली नेपाल ल्याई बेच्ने र नेपालबाट सुपारी भारत लैजाने भारतीय गिरोह केही समयदेखि झापामा सक्रिय रहेको बताए । समातिएका सबै सिमापारी भारत किसनगञ्ज जिल्ला गलगलिया पञ्चायतको एउटै टोलका बासिन्दा हुन् ।
यस्तै प्रहरीले १५ माघमै काकडभिट्टाबाट १ हजार ४३५ किलो सुपारी सहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ ।
को४प १८६२ नम्बरको मोटरसाइकल सहित पक्राउ पर्नेहरुमा सिमापारी भारत गलबन्दियाका लिला मलाह र झुम्री नमोसुडरु साथै मेचीनगर १० का चन्द्रलाल राजबंशी रहेका छन् ।
राति १बजे मेची खोला किनारबाट समातिएका उनीहरुका साथबाट प्रहरीले झ्याल ढोकाको १५केजी चुकुल समेत बरामद गरेको छ ।
सामानसहित उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार कार्यालयमा बुझाएको छ ।
गोपाल गडतौला, झापा
