समाचारसोमबार, साउन २२, २०६९
अध्यादेशबाट शासन चलाउनुपर्ने बाध्यताः भट्टराई
क्रान्तिकारी पत्रकार सङ्घले २२ साउनमा बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री भट्टराईले बाध्यात्मक अवस्थामा अध्यादेशबाट शासन चलाउनुपरेको भन्दै दलहरूबीच सहमति बने आफू तत्काल पद छाड्न तयार रहेको दाबी गरे । उनले दलहरूबीच गत २१ वैशाखमा भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न छोटो समयका लागि संविधानसभाको पुनःस्थापना वा अर्को संविधानसभाको निर्वाचनका लागि दलहरूबीचको सहमति नै मुलुकको राजनीतिक सङ्कट फुकाउने बाटो भएको उल्लेख गरे ।
कार्यक्रममा प्रधानमन्त्रीले पाँचबुँदे कार्यान्वयन गर्ने कुरामा सहमति नभए नयाँ सहमति खोज्ने र त्यो भनेको संविधानसभाको निर्वाचन र राष्ट्रिय सहमतिको सरकारबारे प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टी सङ्घीय गणतन्त्रसहितको संविधान निर्माण जनताबाट चुनिएको संविधानसभाबाटै हुनुपर्ने कुरामा दृढ रहेको बताए ।
कांग्रेस र एमाले सहमतिमा आउन नचाहेको आरोप लगाउँदै प्रधानमन्त्री भट्टराईले भने, “उनीहरू सरकारसँग वार्ता नगर्ने र बहिस्कार गर्ने कुरा गर्दैछन्, के काँग्रेस-एमालेले एमाओवादी र मधेसवादी दलहरू बाहेकको सहमति खोजेको हो ?”, संविधानअनुसार म्याद सकिएको संविधानसभा विघटन नभै स्वतः अवसान भएको बताउँदै उनले भने, “त्यसबेला सर्वोच्च अदालतको आदेशबमोजिम निर्वाचन घोषणा गर्नुबाहेक अर्को विकल्प सरकारले देखेन ।”
यसअघि प्रधानमन्त्री भट्टराईले एमाओवादीका अवध राज्य समितिका सदस्य स्वर्गीय कलाधर न्यौपानेको श्रद्धाञ्जलिसभामा बोल्दै साम्यवादी आदर्शलाई जीवनमा लागू नगरेसम्म मुलुकमा परिवर्तन सम्भव नभएको दाबी गरे । कार्यक्रममा शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझी, एमाओवादी मधेस ब्यूरो इन्चार्ज हरिबोल गजुरेल र नेवा राज्य समितिका इन्चार्ज देवेन्द्र पौडेलले स्वर्गीय न्यौपानेको प्रेरणाबाट पाठ सिकेर पार्टीलाई अघि बढाउने दृढता व्यक्त गरे ।रासस
